विराटनगर । परम्परागत कम्युनिष्ट गढको उपमा पाएको भोजपुरबाट यस पटक गैर कम्युनिष्ट पार्टी श्रम संस्कृति पार्टीले जित हात पारेको छ । जसले जितेपनि यसअघिका निर्वाचनमा भोजपुरमा कम्युनिष्टले नै जित्दै आएका थिए ।
निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदै गर्दा नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका नेता शेरधन राईको तेस्रो पराजय भयो । त्यहाँ श्रम संस्कृति पार्टीका उम्मेद्वार ध्रुवराज राई विजयी बने । ध्रुवले १६ हजार ६ सय ६३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी शेरधन राईले १४ हजार ७ सय ५० मतमा चित्त बुझाउनु पर्यो ।
वि.सं. २०३९ सालमा भोजपुरको पश्चिमी क्षेत्र नागीको एउटा सामान्य परिवारमा जन्मिएका ध्रुवराजले आफ्नो राजनीतिक यात्रा भोजपुर बहुमुखी क्याम्पसको विद्यार्थी राजनीतिबाट सुरु गरेका थिए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनी एमाले निकट अनेरास्ववियुको राजनीतिमा होमिएर दुई पटकसम्म स्ववियू सभापति निर्वाचित भएका थिए । उनलाई भोजपुरमा आन्दोलनको छोरो भनेर चिनिनुको पछाडि २०६२÷६३ को जनआन्दोलनमा उनले देखाएको असाधारण साहस नै मुख्य कारण थियो ।
तत्कालीन समयमा सेनाको ब्यारेक र प्रहरी प्रशासनको अगाडि उभिएर हाक्काहाक्की राजाविरोधी नारा लगाउने र भाषण गर्ने ध्रुवको छवि आज पनि भोजपुरे युवाहरूको मानसपटलमा ताजा छ । राजनीतिमा इमानदार र जुझारु मानिने उनी विद्यार्थी संगठनको केन्द्रीय सचिवालय सदस्यसम्म पुगे पनि केन्द्रीय उपाध्यक्षमा भने पराजित भएका थिए । तर, त्यो पराजयले उनलाई कमजोर बनाएन, बरु भुईँतहका जनतासँग अझ नजिक बनायो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा ध्रुवराज राईले पहिलो पटक चुनावी राजनीतिमा आफ्नो बलियो उपस्थिति देखाएका थिए । त्यतिबेला नेकपा एमालेबाट टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुँदा उनलाई समर्थकहरूले ‘ध्रुवे हात्ती’ को उपमा दिएका थिए । चितवनमा आतंक मच्चाएको ध्रुवे हात्ती जस्तै उनले पनि विपक्षी गठबन्धनलाई चुनावी मैदानमा धुलो चटाइदिएका कारण यो नाम निकै चर्चित बन्यो ।
५ वर्ष पालिकाको नेतृत्व सम्हाल्दा उनले अन्य जनप्रतिनिधि जस्तो ठाँट र विलासी जीवन रोजेनन् । सधैँ एउटा साधारण छड्के ब्याग बोकेर, कहिले पैदल त कहिले मोटरसाइकलमा गाउँका कुनाकाप्चा पुग्ने उनको सादगीपनले उनलाई जनताको प्रिय बनाइरह्यो । यद्यपि २०७९ को निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भए । तर उनले जनताको सेवा गर्ने बाटो भने कहिल्यै छोडेनन् ।
नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य समेत रहेका ध्रुवराजले पार्टी नेतृत्वले जनता र कार्यकर्ताको भावना विपरीत काम गरेको भन्दै पछिल्लो समय एमाले परित्यागको घोषणा गर्दै हर्क साम्पाङको श्रम संस्कृति पार्टी रोजे । उनले सार्वजनिक रूपमै भनेका थिए कि पार्टीहरू सत्ता र कुर्सीका लागि राजावादीदेखि कांग्रेससम्म जोसँग पनि मिल्न तयार हुन्छन्, तर जनताको समस्यामा कसैले ध्यान दिँदैनन् । उनले केपी ओलीलाई नेता मान्नेहरूले हर्क साम्पाङ जस्तो देशभक्त र श्रमजीवीको नेतालाई किन स्वीकार गर्न सक्दैनन् भन्ने प्रश्न उठाएका थिए । एमालेका कार्यकर्ताले उनलाई ‘हर्क साम्पाङलाई पनि नेता मान्छौ ?’ भनी सोधेको प्रश्नको उत्तरमा उनले हर्कलाई काँधमा बोकेर हिँड्न आफू तयार रहेको घोषणा गरे ।
निर्वाचनको मैदानमा यसपटक शेरधन राई आफ्नै पार्टीको सांगठनिक शक्ति र विगतको विरासतमा ढुक्क देखिन्थे । उनले निर्वाचनअघि सार्वजनिक रूपमै ध्रुवराजलाई लक्षित गर्दै ‘माटो’ ले ५ हजार जति मत मात्र काट्ने र त्यसले एमालेको विजयलाई नरोक्ने दाबी गरेका थिए । तर, परिणाम ठ्याक्कै उल्टो निस्कियो । नेपाली कांग्रेसका बालकृष्ण थापा, जसले ८ हजार ६ सय ७० मत प्राप्त गरे र रास्वपाका रमेश ओझाले ६ हजार १ सय २ मत ल्याए । उनीहरूले परम्परागत मतहरू विभाजित गरिदिँदा कुनैबेला शेरधनकै कार्यकर्ता रहेका ध्रुवराजलाई जित निकाल्न सहज भयो ।
नेकपाका अजम्बर राई काङमाङले ५ हजार ६ सय २८ मत मात्र प्राप्त गर्नुले पनि भोजपुरमा कम्युनिष्ट मतहरू छिन्नभिन्न भएको प्रष्ट पार्छ । शेरधन राईका लागि यो हार पीडादायी छ किनभने उनले यसअघि २०६४ र २०७९ मा पनि हार व्यहोर्नुपरेको थियो र यो उनको तेस्रो पराजय हो । उनले २०५६, २०७० र २०७४ को चुनाव भने जितेका थिए । २०६४ र २०७९ सालको निर्वाचनमा शेरधन राई तत्कालिन माओवादी केन्द्रका उम्मेद्वार सुदन किराँतीसँग पराजित बनेका थिए ।
निर्वाचनको प्रचारका क्रममा पनि ध्रुवले कुनै तडकभडक बिना नै सामान्य पोसाकमा घरदैलोमा पुगेका थिए । उनीप्रतिको यो विश्वास र हर्क साम्पाङको श्रम संस्कृतिको लोकप्रियताले गर्दा भोजपुरमा वर्षौँदेखि जरा गाडेको कम्युनिष्टहरुको वर्चस्व यसपटक ढल्न पुग्यो ।
निर्वाचनको नतिजाले भोजपुरका ३४ प्रतिशत राई समुदाय र अन्य जातजातिको मतलाई पनि ध्रुवराजले आफ्नो पक्षमा आकर्षित गर्न सफल भएको देखाउँछ । एमालेभित्रको आन्तरिक कलह, कार्यकर्तामा देखिएको नैराश्यता र नेतृत्वको अहंकार नै शेरधन राईको हारको मुख्य कारण बन्यो भने ध्रुवराजको हकमा उनको विद्रोही स्वभाव र स्वच्छ छवि नै जितको आधार बन्यो । संसद्मा पुगेपछि ध्रुबले हर्क साम्पाङको श्रम संस्कृति र आफ्नो पहिचानलाई कसरी कायम राख्छन् भन्ने कुराले उनको आगामी राजनीतिक भविष्य तय गर्नेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।