लोड हुँदैछ...

मेनु

हर्कले रोके सुनसरीमा रास्वपालाई ‘क्लिन स्विप’ हुनबाट

हर्कले रोके सुनसरीमा रास्वपालाई ‘क्लिन स्विप’ हुनबाट

विराटनगर । सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व लहर ल्याइरहँदा हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ ले रास्वपाको पूर्ण विजय यात्रा (क्लिन स्विप) लाई रोकेको छ । झापा र मोरङका सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले ऐतिहासिक जित निकाल्दा सुनसरी क्षेत्र नं. १ मा भने हर्क साम्पाङ आफैँले जित हासिल गरेर रास्वपाको सबै सिट जित्ने सपनामा ‘ब्रेक’ लगाइदिएका हुन् ।

झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले पुराना नेताहरूलाई निकै पछाडि पारेका छन् । झापा क्षेत्र नं. ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले ६८ हजार ३४८ मत ल्याएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरे भने झापा १ मा निशा डाँगी, २ मा इन्दिरा रानामगर, ३ मा प्रकाश पाठक र ४ मा शम्भुप्रसाद ढकालले भारी मतान्तरले जित हासिल गरे । यस्तै मोरङका ६ वटै क्षेत्रमा पनि रास्वपाको घण्टीले वर्चस्व कायम गर्यो। मोरङ १ मा यज्ञमणि न्यौपाने, २ मा कृष्ण कुमार कार्की, ३ मा गणेश कार्की, ४ मा सन्तोष राजवंशी, ५ मा आशा झा र ६ मा रुबिना आचार्यले जित्दा मोरङ जिल्ला रास्वपाका लागि पूर्ण रूपमा ‘क्लिन स्विप’ भयो

तर, छिमेकी जिल्ला सुनसरीमा भने दृश्य केही फरक देखियो । सुनसरीका क्षेत्र नं. ३ मा अशोक कुमार चौधरी निर्वाचित भए भने २, र ४ मा लाल विक्रम थापा, र दीपक कुमार साह जितको नजिक छन् । क्षेत्र नं. १ मा साम्पाङले रास्वपाको लहरलाई रोकिदिए । सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका हर्क राज राई (हर्क साम्पाङ) ३५ हजार ७४१ मत ल्याउँदै जित दर्ता गरे । हर्कका निकटतम् प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङ ‘सरिन’ले २७ हजार २४९ मत ल्याइन् ।

यसरी झापा, मोरङ र सुनसरीका कुल १७ निर्वाचन क्षेत्रमध्ये १६ क्षेत्रमा घण्टी बज्दा हर्क साम्पाङको जितले रास्वपालाई यो क्षेत्रमा ‘पूर्ण क्लिन स्विप’ हुनबाट जोगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।