विराटनगर । कुनै समय धरानका सडकमा टेम्पो चलाउँदै र खाडीका तप्त मरुभूमिमा पसिना बगाउँदै गर्दा हर्कराज राई साम्पाङले सायद सोचेका थिएनन् होला एकदिन उनले नेपालको संसदीय राजनीतिको मियो नै हल्लाइदिनेछन् । तर, आइतबार सुनसरी क्षेत्र नम्बर १ को निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा एउटा नयाँ इतिहास लेखिएको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ ३५ हजार ७४१ मतसहित विजयी भएर प्रतिनिधिसभाको ढोका ढकढक्याउन पुगेका छन् । यो जित केवल एउटा व्यक्तिको विजय मात्र होइन, यो त परम्परागत राजनीतिलाई बिश्राम दिँदै श्रम–क्रान्तिको अनुमोदन हो ।
२०३९ सालमा खोटाङको खार्ताम्छामा जन्मिएका हर्कको जीवन कुनै चलचित्रको कथाभन्दा कम छैन । ब्रिटिस गोर्खा सैनिकको परिवारमा जन्मिए पनि उनको भागमा सुखसुविधा होइन, संघर्ष नै लेखिएको थियो । २०५७ सालमा उच्च शिक्षाका लागि धरान झरेका उनले जीवन चलाउन धेरै हन्डर खाए ।
जिद्दी स्वभावका कारण उनले आफ्नो उपनाम नै क्रान्ति राखेका थिए । त्यही क्रान्तिको भोकले उनलाई कहिले अफगानिस्तान त कहिले इराकका जोखिमपूर्ण क्षेत्रमा पु¥यायो । तर, विदेशको तातो बालुवामा पसिना बगाइरहँदा उनको मन सधैँ धरानका सुकेका धारा र व्याप्त भ्रष्टाचारमा अल्झिरहन्थ्यो । स्वदेश फर्किएपछि उनले टेम्पो संघको अध्यक्षदेखि अभियन्तासम्म भएर सडकबाटै बेथितिविरुद्ध धावा बोले ।
साम्पाङले राजनीतिलाई भाषणमा होइन, श्रममा जोडे । २०७९ को स्थानीय तह निर्वाचनमा लौरौ चिन्ह लिएर एक्लै चुनावमा होमिँदा धेरैले उनलाई पत्याएका थिएनन् । तर, जब उनले एमाले र कांग्रेस जस्ता विशाल शक्तिलाई धूल चटाइदिए, तब नेपाली राजनीतिमा साम्पाङ युगको सुरुवात भयो ।
मेयर बनेपछि उनी वातानुकूलित कोठामा बसेर फाइल पल्टाउनतिर लागेनन् । उनी त हातमा साबेल र गल बोकेर जनतासँगै कोकाहा खोलाको पानी ल्याउन ४२ किलोमिटर टाढा जङ्गल पसे । जनतासँगै ढुङ्गा बोक्ने, गिटी कुट्ने उनको शैलीले आम मानिसको मन छोयो । जनताको काम गर्न कुर्सीमा बस्नै पर्दैन, श्रमदान गरे पुग्छ भन्ने सोच नै उनको थियो । त्यही सोचले उनलाई संसदको आसनसम्म पु¥यायो ।
हर्क साम्पाङ जति लोकप्रिय छन्, त्यति नै विवादित पनि । सामाजिक सञ्जालमा शीर्ष नेताहरूमाथि उनको तिखो र कहिलेकाहीँ अमर्यादित सुनिने टिप्पणीले उनलाई आलोचनाको घेरामा राखिरह्यो । बालेन शाहदेखि रवि लामिछानेसम्मलाई नछाड्ने उनको स्वभावलाई कतिपयले अहंकारी भने त कतिपयले निडरपन ।
मेयरको कार्यकाल साढे तीन वर्ष पनि नपुग्दै राजीनामा दिएर प्रतिनिधिसभामा होमिने उनको निर्णयलाई धेरैले जोखिमपूर्ण मानेका थिए । तर, सुनसरी–१ का मतदाताले उनले भन्दै आएको हर्कवादलाई अनुमोदन गरिदिएका छन् । ३५ हजार ७४१ मतका साथ उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ र एमालेका उम्मेदवारलाई निकै पछि छाडिदिए ।
‘म प्रधानमन्त्री बन्न राजनीतिमा आएको हुँ,’ भन्न नहिचकिचाउने साम्पाङ अब देशको नीति निर्माण गर्ने सर्वोच्च थलोमा पुगेका छन् । धरानको खानेपानी समस्या पूर्ण समाधान गर्न नसकेको र बिचैमा पद छाडेको आरोप उनीमाथि छ । तर, अब उनको काँधमा धरानको मात्र होइन, सिंगो देशको भार छ ।
श्रम संस्कृति पार्टीको झण्डा र आफ्नै मौलिक सिद्धान्त बोकेर संसद छिर्दै गर्दा हर्क साम्पाङको अगाडि अब एउटै चुनौती छ– सडकको विद्रोह र श्रमको पसिनालाई कानुनको पानामा कसरी उतार्ने ? संसदको रोष्ट्रममा उभिएर जब हर्क साम्पाङले आफ्नो रैथाने शैलीमा बोल्नेछन्, तब पक्कै पनि सिंहदरबारका भित्ताहरूले एकपटक सोच्नेछन्, ‘अब राजनीति केवल पावर र पैसाको खेल मात्र रहेन, यो त श्रम र साहसको सङ्गम पनि हो ।’
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई हाराहारी सिट पुर्याउने देखिँदैछ । साम्पाङले पनि दुई सिटमा विजयी भइसकेका छन् । एक सिटमा जितको घोषणा हुन बाँकी छ । संसदीय अंकगणितमा साम्पाङका तीन सिट कमै हो । तर, उनको नयाँ राजनीतिको यो सुरुवात हो । संसदमा प्रतिपक्षी दलको रुपमा काँग्रेस, एमाले र नेकपालाई भन्दा जनताले हर्क साम्पाङलाई नै असली प्रतिपक्षी मान्नेछन् । किनकी उनको बोल्ने शैली र नयाँ तरिकाप्रति आम मानिसहरुको चासो र सरोकार छ । संसदमा आफूलाई अप्ठ्यारो पार्नसक्ने देखेरै हुनुपर्छ रास्वपाले प्रधानमन्त्रीको रुपमा अघि सारिरहेका बालेन शाहले साम्पाङलाई सुरुमै सन्तुलनमा राख्न खोजेका छन् ।
‘लु अब चाहिँ सुनसरीबाट म पहिलो भएको घोषणा गर्दछु, जय माटो ! जय देश !! जय श्रम संस्कृति !!!,’ प्रतिनिधिसभामा जितेपछि साम्पाङले फेसबुकमा पोस्ट सार्वजनिक गरेका छन् । उक्त पोष्टमा बालेन शाहले लेखेका छन्, ‘तपाईँलाई सधैँ माया थियो, छ, र रहन्छ’ र ‘तपाईं र धरानलाई सधैँ माया छ ।’ हर्कको स्टाटसमा बालेनले कमेन्ट गरेर माया त दर्शाएका छन् तर, उनीहरुको फरक राजनीतिक पृष्ठभूमिले आगामी यात्रा कस्तो हुनेछ त्यो भने हेर्न बाँकी छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।