विराटनगर । भोजपुरमा दशकौँदेखि कायम रहेको वामपन्थी वर्चस्वको बिरासत भत्किएको छ। आइतबार दिउँसो सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन्।
उनले नेकपा एमालेका केन्द्रीय सचिव एवं कोसी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईलाई १ हजार ९१३ मतान्तरले पराजित गरेका हुन्। ध्रुवराजले १६ हजार ६६३ मत प्राप्त गर्दा एमालेका प्रभावशाली नेता शेरधनले १४ हजार ७५० मतमा चित्त बुझाउनुपर्यो।
२०४८ सालयताको निर्वाचन परिणाम हेर्दा भोजपुरलाई वामपन्थीहरूको ुलालकिल्लाु मानिन्थ्यो। २०४८, २०५१ र २०५६ का निर्वाचनमा एमालेले यहाँ लगातार जित हासिल गरेको थियो। २०६४ यताका निर्वाचनमा माओवादीले आफ्नो प्रभाव जमाएको थियो। तर, यसपटक श्रम संस्कृति पार्टीले एमाले र माओवादी दुवैको बिरासतलाई चुनौती दिँदै जित निकालेको छ। यो हारसँगै पूर्वसञ्चारमन्त्री समेत रहेका शेरधन राईको संसदीय यात्रामा पूर्णविराम लागेको छ।
एमालेको विद्यार्थी राजनीतिबाट उदाएका ध्रुवराज राई कुनै समय शेरधनकै सहयात्री थिए। २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष जितेका ध्रुवराजले गत २ पुसमा मात्र एमाले परित्याग गरेका थिए। एमाले नेतृत्वले कार्यकर्ता र जनताको भावनाविपरीत काम गरेको आरोप लगाउँदै उनी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए। पहिलो पटक प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिएका उनले आफ्नै पुराना नेतालाई पराजित गर्दै संघीय संसद्को यात्रा तय गरेका छन्।
शेरधनको राजनीतिक धक्का
एमालेभित्र अवसर पाउने नेताको सूचीमा अग्रपंक्तिमा रहेका शेरधन राईका लागि यो पराजय ठूलो धक्का हो। २०५६, २०७० र २०७४ प्रदेशसभामा चुनाव जितेका राई २०६४ र २०७९ मा माओवादीका सुदन किरातीसँग पराजित भएका थिए। यसपटक नयाँ शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टीका उम्मेदवारसँग पराजित भएसँगै उनको राजनीतिक जीवनमा नयाँ चुनौती थपिएको छ।
जेनजी आन्दोलनको बलमा भएको यस निर्वाचनमा भोजपुरसँगै पूर्वका अन्य जिल्लामा पनि श्रम संस्कृति पार्टीको प्रभाव देखिएको छ। भोजपुरका ध्रुवराजसँगै सुनसरी क्षेत्र नं. १ मा पार्टी अध्यक्ष हर्कराज साम्पाङ र खोटाङमा पार्टी महासचिव आरेन राईले पनि जित हासिल गरेका छन्।
निर्वाचन आयोगका अनुसार १ लाख २३ हजार ३७९ मतदाता रहेको भोजपुरमा यसपटक ५८ हजार ६९ मत खसेको थियो। यो निर्वाचनले भोजपुरको परम्परागत राजनीतिक समीकरणलाई पूर्ण रूपमा बदलिदिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।