लोड हुँदैछ...

मेनु

इन्दिरा रानाले जितेको राजनीति

इन्दिरा रानाले जितेको राजनीति

विराटनगर । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका देवराज घिमिरेले झापा २ बाट विजयी बनेका थिए । उनले त्यसबेला २८ हजार ७१६ मत ल्याए । पहिलो पटक प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको आशिर्वादमा सभामुखसम्म बनायो । तर, उनी सभामुख पदमा रहँदा उनले त्यो भूमिका निष्पक्ष ढंगले पुरा गर्न नसकेको भन्दै आलोचना भयो ।

अर्कातिर त्यही प्रतिनिधिसभामा पहिलो पटक नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई समानुपातिक सांसद बनाएर पठाएको थियो । रानालाई एमालेसहितको सहयोगमा उपसभामुख पनि बनाइयो । घिमिरे र राना दुवैजना झापाकै थिए ।

तर, परिस्थिति सँधै एकनाश रहेन । सत्ता र शक्तिको बलमा रहेका एमाले र काँग्रेसले उपसभामुख रानालाई मानव तस्करीको आरोप लगाए । अन्ततः जेनजी विद्रोहपछि उक्त संसद विघटन भएर नयाँ निर्वाचन सम्पन्न हुँदा उनै इन्दिरा राना मगरले तत्कालिन सभामुख देवराज घिमिरेलाई भारी मतअन्तरले पराजित गरिन् । शनिबार अबेर सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार मगरले ६० हजार ११० मत पाउँदा घिमिरेले ११ हजार ३६८ मत मात्रै ल्याए । उनीहरुबीचको मतान्तर ४८ हजार ७४२ रहेको छ ।

झापाको अर्जुनधारामा २०२७ सालमा जन्मिएकी रानाको बाल्यकाल साधारण थियो । समाजशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी उनी साहित्यकार पारिजातको मानवअधिकारवादी संस्थामा स्वयंसेवक बनेकी थिइन् । त्यहीबेला इन्दिराले कारागार भ्रमणका क्रममा कैदीबन्दीका सन्तानहरूको अलपत्र अवस्था देखेपछि उनले गैरसरकारी संस्था बन्दी सहायता नेपाल दर्ता गरिन् र जेल सजाय भोगिरहेका महिलाका बालबच्चालाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्रदान गर्ने अभियान थालिन् । ३ दशकदेखि यो क्षेत्रमा सक्रिय उनले सयौं बालबालिकाको उद्धार गरेकी छिन् । २२ वर्षअघि दुई कोठा भाडामा लिएर काठमाडौंमा सुरु गरेको यो सेवा अहिले झापा, पाल्पा, काठमाडौंलगायत स्थानमा बाल संरक्षणगृह सञ्चालनमा छन् । ती बालबच्चालाई पढाउन उनले दुई वटा प्राथमिक विद्यालयसमेत चलाएकी छन् ।

कोभिड महामारीका बेला उनले आम्दानीको अभावमा भोका परेका सयौं मानिसहरूलाई खाना वितरण गरिन् । सन् २००५ मा उनलाई ‘अशोका फेलो’ पुरस्कार प्राप्त भयो भने २००९ मा एसिया जनसेवा अवार्ड र सन् २००१४ मा नोबेल विजेता मलाला युसुफजाई तथा अमेरिकी जोन उडसँगै वल्र्ड चिल्ड्रेन अनररी अवार्ड पाइन् । सन् २०१७ मा बीबीसीले बीबीसी १०० विमिन सूचीमा समेटेर विश्वका प्रेरणादायी महिलामध्ये एक बनायो ।

उनी उपसभामुख भएपछि भने काँग्रेस एमालेले मानव तस्करी गरेको आरोप लगाउँदै विवादमा ल्याए । उनले अमेरिका जानका लागि केही युवाहरूलाई भिसाको समय मिलाइदिन भन्दै अमेरिकी दूतावासमा चिठी लेखेको विषयले संसद तात्यो । संसदमा उनलाई महाअभियोग लगाउनेसम्मका तयारी भए । तर काँग्रेस र एमालेको भित्रि तयारी सफल भएन । अहिले भने ती सबै आरोपको एकमुष्ट जवाफ जनताले नै रानाको पक्षमा हुने गरी दिएका छन् । सभामुखको भूमिकामा रहेका घिमिरे पराजित हुँदा उनी फेरि प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्ष निर्वाचन जित्दै संसद बन्ने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।