लोड हुँदैछ...

मेनु

भोजपुरको मतपेटिकामा भेटियो ‘भावनात्मक चिठी’

भोजपुरको मतपेटिकामा भेटियो ‘भावनात्मक चिठी’

विराटनगर। निर्वाचनमा जनताले आफ्ना प्रतिनिधि छान्नका लागि मतदान गर्छन्। तर, भोजपुरमा एक मतदाताले मतपत्रसँगै आफ्नो भावना र देशप्रतिको चिन्तालाई एउटा चिठीमा कोरेर मतपेटिकामा खसालेको पाइएको छ।

भोजपुरको मतगणना जारी रहँदा वडा नम्बर २ को मतपेटिकामा उक्त हस्तलिखित पत्र फेला परेको हो। भोजपुरका मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद दाहालले मतपेटिकामा चिठी फेला परेको कुरालाई पुष्टि गरेका छन्। ‘मतगणनाका क्रममा एउटा चिठी भेटिएको थियो। त्यो चिठीमा कसैलाई गालीगलौज गरिएको छैन, बरु देश विकास र सुशासनका लागि केही सकारात्मक सुझावहरू लेखिएका छन्,’ उनले भने, ‘यो चिठीले अन्य मतपत्रहरूलाई कुनै असर गरेको छैन, न त यो कुनै कानुनी कारबाहीको विषय नै हो। एउटा मतदाताले आफ्नो मनमा लागेको कुरा व्यक्त गर्ने माध्यमका रूपमा यसलाई प्रयोग गरेको देखिन्छ।’

के छ त चिठीमा ?

कापीको पानामा हातले लेखिएको उक्त पत्रमा पाँचवटा बुँदाहरू समेटिएका छन्। पत्रको अन्त्यमा प्रत्येक बुँदापछि ‘हाम्रो मत खेर जान नदेऊ गगन’ भन्ने पदावली दोहोर्‍याइएको छ । जसले नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन बुझिन्छ ।

चिठिमा हाम्रो मतले समृद्ध नेपाल र सम्मानित नेपालीको खाका कोरोस्, सबै नेपालीमा मेलमिलाप छाओस् र राष्ट्रिय एकता मजबुत होस्, देशमा व्याप्त बेथिति र भ्रष्टाचारको अन्त्य होस् र सुशासन कायम गरियोस्, पाँच वर्षको अवधिभर निर्वाचित प्रतिनिधिहरूले जनमतको सम्मान गरुन् र बारम्बारको अस्थिरता नहोस्, सहिदहरूको सपना साकार पारियोस्। नेपालको भू–परिवेश र अन्तर्राष्ट्रिय जगतमा भारत र चीनसँगको सम्बन्ध सन्तुलित राखियोस् र नेपालको स्वाधीनताको रक्षा गरियोस् भन्ने उल्लेख छ । चिठीको अन्त्यमा ‘जय नेपाल, जय नेपाली, जय नेपाली आमा’ भन्दै ‘राष्ट्र निर्माणको जय होस्, अवसरवादीको अन्त्य होस्’ भन्ने नारा लेखिएको छ।

पछिल्लो समय राजनीति र नेताहरूप्रति जनतामा बढेको असन्तुष्टि र आशाको मिश्रण यस चिठीमा स्पष्ट देखिन्छ। निर्वाचन अधिकृत दाहालका अनुसार यस्ता पत्रहरूले मतदाताको सचेतता र देशप्रतिको चिन्तालाई झल्काउँछ। भोजपुरमा मतगणना अहिले पनि मतगणना जारी छ । यो समाचार तयार पार्दासम्मका मतगणना अनुसार श्रम संस्कृति पार्टीका ध्रवराज राईले ८ हजार ७९८, नेकपा एमालेका शेरधन राईले ७ हजार ३८३ र नेपाली काँग्रेसका बालकृष्ण थापाले ४ हजार ७६३ मत पाएका छन् । भोजपुरमा रास्वपाका रमेशप्रसाद ओझाले ३ हजार ८९३ र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले ३ हजार ३५७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।