लोड हुँदैछ...

मेनु

ओलीले व्यहोरे लज्जास्पद हार ! आफू जित्न के के गरे ?

ओलीले व्यहोरे लज्जास्पद हार !  आफू जित्न के के गरे ?

विराटनगर । नेपाली राजनीतिको एउटा अध्याय अन्त्य भएको छ भने अर्को नयाँ युगको सूत्रपात भएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ । जसलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभेद्य किल्ला मानिन्थ्यो, त्यसलाई परिवर्तनको लहर बोकेका बालेन्द्र शाह (बालेन) ले ध्वस्त पारिदिए ।

२०४८ सालदेखि निरन्तर झापा–५ बाट विजयी हुँदै आएका पूर्वप्रधानमन्त्री ओली यसपटक आफ्नै गढमा ४९ हजार ६१४ मतको फराकिलो मतान्तरले पराजित भएका छन् । हिंजोसम्म विपक्षीलाई लज्जास्पद पराजयको स्वाद चखाउँदै आएका ओली यसपटक आफैं अप्रत्याशित हारको स्वाद चाख्न विवश बने ।

निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतपरिणाम विवरण अनुशार बालेन्द्र शाहले ६८ हजार ३४८ मत ल्याउँदा एमाले अध्यक्ष ओलीले १८ हजार ७३४ मत मात्रै ल्याए ।

नयाँ पुस्तामा लोकप्रिय बनेका बालेन्द्र शाहले काठमाडौँ महानगरको प्रमुख पद छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घण्टी चुनाव चिन्ह लिँदै झापा–५ मा पाइला टेक्दा धेरैले यसलाई अराजनीतिक जोखिम मानेका थिए । तर, नतिजाले सबैलाई चकित बनाएको छ । निर्वाचनको अन्तिम संघारमा भने धेरैले बालेन्द्र शाहले जित्ने अनुमान गरेको भएपनि यति धेरै मतान्तर हुने कल्पना गरेका थिएनन् ।

२०७४ मा २८ हजार र २०७९ मा २८ हजारकै मतान्तरले जितेका ओलीका लागि यसपटकको ४९ हजार ६१४ मतको ‘नेगेटिभ’ मार्जिन राजनीतिक जीवनकै सबैभन्दा ठूलो धक्का सावित भएको छ ।

ओलीले २०४८ सालमा तत्कालिन झापा–६ बाट काँग्रेसका केशवकुमार बुढाथोकीलाई ४ हजार ५८७ मतअन्तरले जितेका थिए । २०५१ मा पनि ओलीले उनै बुडाथोकीलाई ४ हजार ४५९ मतले पराजित गरे । २०५६ सालमा ओलीले काशीलाल ताजपुरियालाई ५ हजार ३९३ मतले पराजित गरे । तर, २०६४ सालमा ओलीलाई झापा–७ बाट तत्कालिन माओवादीका विश्वदीप लिङ्देनले ११६ मतले पराजित गरे । ओलीको यो पराजय पहिलो थियो ।

त्यसपछि २०७० सालमा काँग्रेसका सुरेशकुमार योङ्यालाई ६ हजार ९५९ मतले पराजित गरेका ओलीले २०७४ सालमा काँग्रेसकै खगेन्द्र अधिकारीलाई २८ हजार ८४२ मतले र उनै अधिकारीलाई २०७९ सालमा २८ हजार ५७६ मतले पराजित गरेका थिए ।

गएको भदौ २३ र २४ गते भएको ‘जेनजी’ विद्रोह पछि युवा पुस्तामा देखिएको आक्रोश ओलीका लागि घातक बन्यो । बालेनले त्यस आन्दोलनमाथि भएको दमनलाई मुख्य एजेन्डा बनाएका थिए । झापाका हजारौं नयाँ मतदाता र युवाहरूले विकासका पुराना गफभन्दा बालेनको लोकप्रियतालाई विश्वास गरे ।

२०७४ मा माओवादी र २०७९ मा राप्रपाको सहारामा भारी मतले जितेका ओली यसपटक एक्लै थिए । राप्रपाका लक्ष्मी प्रसाद संग्रौला र नेकपाका रञ्जित तामाङ आफैं उम्मेद्वार बने । त्यस्तै नयाँ दलकै रुपमा आएको श्रम संस्कृति पार्टीका समिर तामाङले पनि ओलीकै मतमा धावा बोले ।

पटक–पटक प्रधानमन्त्री हुँदा पनि जनअपेक्षा पूरा नभएको र संसद् विघटन जस्ता घटनाले जनतामा पैदा गरेको निराशालाई बालेनले ‘परिवर्तन’ को नारामा बदल्न सफल भए ।

नेपाली कांग्रेसले पहिलो पटक महिला उम्मेदवार मन्धरा चिमरियालाई मैदानमा उतारे पछि ओलीलाई सहज हुने अनुमान गर्नेहरु पनि थिए । तर, मन्धरालाई भोट नदिनेहरुले ओलीको साटो बालेनलाई नै मतदान गरेको तथ्याङ्कले देखाउँछ ।

झापा–५ मा एमालेको बलियो संगठन र ग्रासरुट नेटवर्क हुँदाहुँदै पनि ओलीको हारले पार्टीभित्र भूकम्प ल्याएको छ । समृद्ध नेपाल, सुखी नेपाली को नारा दिने नेता आफ्नै निर्वाचन क्षेत्रका जनताको विश्वास जोगाउन असफल भए । उनको यो पराजयले आफ्नो मात्रै होइन एमालेको भावी राजनीतिक दिशामाथि नै अन्यौल छाएको छ ।

३१ असार २०७१ मा पार्टी नेतृत्व सम्हालेपछि राष्ट्रिय राजनीतिको मियो बनेका ओली यसपटक संसद् बाहिर रहने भएका छन् । विकासप्रेमी र राष्ट्रवादी छविका बाबजुद पनि समयको पदचाप र युवाहरूको आकांक्षालाई चिन्न नसक्दा ओलीले आफ्नै गढमा लज्जास्पद पराजय व्यहोर्नुपरेको राजनीतिक विश्लेषकहरूको ठहर छ ।

ओलीले आफू जित्न के के गरे ?

केपी शर्मा ओलीले आफूलाई खतरा नहोस् भनेरै झापामा विकास निर्माण (पूर्वाधार विकास)को बाढी लगाएका थिए । योजना बनाएर होस् या अनुरोध गर्नेहरुको योजना स्वीकार गरेर होस् उनले जथाभावि राज्यकोषको रकम खन्याएका थिए । त्यति मात्रै होइन उनले आफू पदमा रहँदा झापा, त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्रका व्यक्तिहरुलाई बढी प्राथमिकता दिएको विगतका कदमले नै देखाउँछ ।

उनले यस पटकको प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक बन्द सूचीका ११० उम्मेद्वारमध्ये २७ जना कोशीबाटै राखे । त्यसमध्ये अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाबाट मात्रै ९ जना छन् । झापाबाट समानुपातिकको सूचीमा पर्नेहरूमा नर्वदादेवी शिवाकोटी, लता प्रसाईं, जितबहादुर दर्जी गौतम, मेनुका काफ्ले, विद्यानन्द सिंह राजवंशी, नीता घतानी, बीणाकुमारी साह र अनिता कन्दङ्वा रहेका छन् । समानुपातिकमै राखेका सोम पोर्तेललाई त्यहाँबाट राजीनामा गराएर राष्ट्रियसभा सदस्यमा पठाए ।

त्यसबाहेक एमालेको नवौँ महाधिवेशन (२०७१ साल)बाट अध्यक्षको रूपमा निर्वाचित भएपछि केपी शर्मा ओलीले आफ्नो गृहजिल्लाका एमालेहरुलाई सकेजति अवसर दिएका छन् । उनी प्रधानमन्त्री हुँदाका बखत जिल्लामा विकास बजेट खन्याउने मात्रै होइन झापालीलाई मनग्ये अवसर दिएका छन् । तर, त्यसकालागि एमाले भएर उनको समर्थक हुनुपर्दछ ।

पार्टीको ११ औं महाधिवेशनमा झापाबाट आफ्नो प्यानलबाट सचिवमा हिक्मतकुमार कार्कीलाई जिताए । केन्द्रीय समितिमा देवेन्द्र दाहालदेखि जेनजी एलिसा गौतमसम्म १७ जनालाई अटाए ।

२०७९ सालको निर्वाचनबाट निर्वाचित झापा २ का देवराज घिमिरेलाई ओलीले सभामुख बनाए । अरुकै नाम चर्चामा रहँदा ओलीले झापाली घिमिरेलाई च्यापेका थिए । आफू प्रधानमन्त्री बन्दा उनले झापाकै देबेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाए ।

प्रतिनिधिसभामा मात्रै होइन उनले कोशी प्रदेश सरकार र प्रदेशसभामा पनि झापालाई नै ध्यान दिन्छन् । कोशी प्रदेशका मुख्यमन्त्री झापाकै हिक्मतकुमार कार्की छन् । एमालेले पाएको मुख्यमन्त्रीसहितको पाँच वटा मन्त्रालयमध्ये खानेपानी, सिंचाई तथा उर्जामन्त्री पनि झापाबाटै एकराज कार्कीलाई बनाए । हाल सो मन्त्रालयमा मन्त्रीको रुपमा झापाबाट एमालेका तिलचन पाठक छन् ।

संघीय संसद अन्तर्गत २०७९ मा एमालेले समानुपातिकमा ३४ जना सांसद जितेको थियो । त्यसमध्ये ओलीले चार जनालाई झापाबाट सिफारिस गरे । उनले अमृतलाल राजवंशी, कालुराम राई, सुनिता बराल र हर्कमाया विश्वकर्मालाई सांसद बनाए । राष्ट्रियसभा निर्वाचनमा पनि कोशी प्रदेशको कोटाबाट झापाकै देवेन्द्र दाहाललाई अवसर दिए ।

कोशी प्रदेश संसद अन्तर्गत २०७९ मा एमालेले समानुपातिकमा १५ जना सांसद जितेको थियो । त्यसमध्ये तीन जना झापाकै निर्वाचित बने । जसमा तारादेवी ढकाल, कमला थापा मगर र नम्बरलाल धिमाल छन् । त्यसबाहेक ओलीले झापाकै पूर्वगभर्नर बनेका युवराज खतिवडालाई राजदुत हुँदै अर्थमन्त्रीसम्म बनाए । झापाकै अग्नि खरेललाई महान्यायाधिवक्ता बनाए । खरेललाई कानूनमन्त्री पनि बनाए ।

२०७९ सालको निर्वाचनमा झापाबाट संघीय संसदमा प्रत्यक्षतर्फ ३ वटा क्षेत्रमा र प्रदेशसभाको ६ वटा क्षेत्रमा एमालेले जित निकालेको थियो । ७ वटा पालिकामा एमालेले जितेको थियो । प्रतिनिधिसभातर्फ एमालेले समानुपातिकमा झापाबाट एक लाख २७ हजार ७८० मत ल्याएको थियो ।

त्यसको तुलनामा एमाले २०७४ मा अझै बलियो थियो । प्रतिनिधिसभामा ३ वटा जितेको एमालेले प्रदेशसभामा ८ वटा क्षेत्र जितेको थियो । पालिका ७ वटामा जितेको थियो । त्यसबेला एमालेले झापाबाट समानुपातिकतर्फ १ लाख ६० हजार ६३९ मत ल्याएको थियो । यो तथ्याङ्कलाई हेर्दा एमालेका लागि अवसर बढिरहँदा मत परिणाम भने घटिरहेको देखिएको छ । संघीय निर्वाचन क्षेत्र ५ र प्रदेश निर्वाचन क्षेत्र १० रहेको झापामा २०७९ सालको निर्वाचन पछि एमालेसहितका दलहरुबाट समानुपातिक प्रतिनिधिसभामा १२ जना, राष्ट्रियसभामा २ र कोशी प्रदेशसभामा २० सहित ३४ जनाको प्रतिनिधित्व थियो ।

यस पटक भने ओलीले दिएका दर्जनौं अवसरको खातलाई पन्छाउँदै काठमाडौंबाट प्रतिस्पर्धा गर्न झापा झरेका बालेन्द्र शाहले सानदार जित दर्ता गराए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।