विराटनगर । नेपाली कांग्रेसका प्रखर वक्ता एवं महामन्त्री गुरुराज घिमिरे, नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री अमनलाल मोदीलाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी भारी मतले विजयी भएका छन् । उनी पूर्वपत्रकार पनि हुन् ।
सो क्षेत्रबाट नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत रहेका पूर्व प्रदेशमन्त्री जीवन घिमिरे पनि उम्मेद्वार बनेका थिए । निर्वाचन अधिकृत घनेन्द्र अधिकारीका अनुसार ३४ वर्षीय राजवंशी ४० हजार ८ सय ३३ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस महामन्त्री घिमिरेले १२ हजार ८ सय १२ मत मात्र प्राप्त गरे । राजवंशी र घिमिरेबीचको मतान्तर २८ हजार २१ छ, जुन यस क्षेत्रको इतिहासमै निकै फराकिलो मानिएको छ ।
यस्तै, यसअघि लगातार दुई पटक निर्वाचित भई जितको ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका नेकपाका उम्मेदवार तथा पूर्व मन्त्री अमनलाल मोदी १० हजार ७ सय ६२ मतमा खुम्चिएका छन् । एमालेका जीवन घिमिरेले ६ हजार ९ सय ३३ मत प्राप्त गरे । कुल १ लाख १९ हजार २५५ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार ७ सय ८५ मत खसेको थियो ।
को हुन् सन्तोष राजवंशी ?
विराटनगर–३, राजवंशी चोकका स्थायी बासिन्दा सन्तोष राजवंशीको राजनीतिक उदय लामो छैन । २०४८ साल पुस १२ गते आमा कोइली देवी र बुबा रामपूजन राजवंशीको कोखबाट जन्मेका सन्तोष परिवारका एक्ला छोरा हुन् । स्नातक तहसम्मको अध्ययन पूरा गरेका राजवंशी राजनीतिमा होमिनुअघि पत्रकारितामा सक्रिय थिए । उनी नेपाल टेलिभिजन इटहरी च्यानलमा करार नियुक्ति भएका थिए । ‘पत्रकारितामार्फत जनताको आवाज उठाउँदै आएको थिएँ, अब सदनमा पुगेर ती आवाजलाई बुलन्द बनाउनेछु,’ निर्वाचित भएपछि सन्तोषले भने ।
मोरङ–४ को चुनावी प्रतिस्पर्धा यसपटक रोचक र पेचिलो थियो । नेता मोदीले २०७४ मा कांग्रेसका महेश आचार्य र २०७९ मा एमालेका विनोद ढकाललाई पराजित गरेका थिए । थारू समुदायको बाक्लो उपस्थिति र आफ्नो व्यक्तिगत पकडका कारण मोदी ढुक्क देखिन्थे । यता, कांग्रेसका वैचारिक नेता गुरुराज घिमिरेका लागि यो चुनाव राजनीतिक पुनरागमनको महत्वपूर्ण थियो । २०७९ को प्रदेशसभा निर्वाचनमा झिनो मतले पराजित भएपछि महामन्त्रीको जिम्मेवारीसहित उनी केन्द्रमा फर्कन चाहन्थे । यस्तै, एमालेका जीवन घिमिरे पनि आफ्नो संसदीय यात्रा सुरक्षित गर्ने कसरतमा थिए ।
तर, स्थापित दलका यी तीनै जना नेतालाई राजवंशीले हराइदिए । राजवंशीले परम्परागत दलहरूप्रतिको वितृष्णा र परिवर्तनको चाहनालाई आफ्नो पक्षमा पार्न सफल भए । यो क्षेत्रमा ग्रामथान, कटहरी, बेलबारीका केही वडा र विराटनगर महानगरपालिकाका ६ वटा वडा समेटिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।