लोड हुँदैछ...

मेनु

मोरङ ५ : स्वास्थ्य स्वयम्सेवीका आशा झा अब सांसद

मोरङ ५ : स्वास्थ्य स्वयम्सेवीका आशा झा अब सांसद

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा निर्वाचन अगाडि सबैको अनुमान थियो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिस्पर्धामै छैन । त्यसो हुनुको पछि केही कारणहरु थिए । पहिलो कारण रास्वपाबाट २०७९ सालमा निर्वाचनमा प्रतिस्पर्धा गरेका प्रमोदकुमार मण्डलले आफ्नै उम्मेद्वारको विरुद्धमा अभियान छेडेका थिए भने अर्को कारण रास्वपाकी उम्मेद्वार आशा झा क्षेत्रमा परिचित थिइनन् ।

तेस्रो कारण भनेको त्यस क्षेत्रबाट नेकपाका पूर्वमन्त्री शिवकुमार मण्डल, यसअघि स्वतन्त्र सांसद जितेका राष्ट्रिय उर्जाशिल पार्टीका अध्यक्ष योगेन्द्र मण्डल, जसपाका राजकुमार यादव, काँग्रेसका फूलकुमार लालवानी र एमालेका मनोज अग्रवालजस्ता उम्मेद्वारहरु प्रतिस्पर्धामा थिए । यी घघडान उम्मेद्वारको बीचमा एक मधेशी महिला आशा झाले चुनाव जित्ने यो समाचारमा कमैले अनुमान गरेका थिए । तर, अन्तिम परिणाम आउँदासम्ममा झाले भारीमतले सबै प्रतिस्पर्धीलाई उछिन्दै विजयको माला पहिर्याइन् ।

उनले ३० हजार ४३४ मत ल्याएर विजयी बनेकी हुन् । सो क्षेत्रबाट दोस्रो स्थानमा काँग्रेसका फुलकुमार लालवानी भए । लालवानीले ९ हजार ४१५ मत ल्याउँदा तेस्रो स्थानमा भने जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गरे । सो क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्रीसमेत रहेका शिवकुमार मण्डलले ८ हजार ६१४, नेकपा एमालेका मनोजकुमार अग्रवालले ६ हजार ९४५ र राष्ट्रिय उर्जाशील पार्टीका योगेन्द्र मण्डलले ४ हजार १९९ मत पाएका छन् । यसअघि यो क्षेत्रबाट स्वतन्त्र उम्मेद्वार बनेका योगेन्द्र मण्डल विजयी भएका थिए ।

को हुन् झा ?

परम्परागत राजनीतिक शक्तिहरूलाई पछि पार्दै विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशा झा एक मध्यमवर्गीय कृषक र कर्मचारी परिवारबाट उदाएकी हुन् ।

विराटनगर १३ की स्थायी बासिन्दा झाको बाल्यकाल यहीँ बित्यो । उनी एक कृषक परिवारकी छोरी र बुहारी हुन् । उनका पिता सरकारी कर्मचारी भएकाले सानैदेखि उनले अनुशासित र शैक्षिक वातावरण पाइन् ।

समाजमा छोरीलाई पढाउनु हुँदैन भन्ने संकीर्ण सोच व्याप्त रहेका बेला पनि उनका पिताले उनलाई उच्च शिक्षाका लागि प्रोत्साहित गरे । झाले जनस्वास्थ्यमा स्नातक गरेकी छिन् ।

राजनीतिमा आउनुअघि झाको परिचय एक समर्पित स्वास्थ्यकर्मी (स्वास्थ्य स्वयम् सेविका) र अभियन्ताका रूपमा थियो । उनले विराटनगर महानगरपालिकामा १६ वर्षभन्दा बढी समय स्वास्थ्य सेवामा बिताइन् । स्वास्थ्य क्षेत्रमा काम गर्दा उनले सर्वसाधारणका दुःख र राज्यको संयन्त्रलाई नजिकबाट नियाल्ने मौका पाइन् ।

यसका साथै उनी धार्मिक संस्था अखिल विश्व गायत्री परिवारसँग जोडिएर मानवीय नैतिकता र आत्मबल बढाउने अभियानमा सक्रिय रहिन् । नागरिक समाजमार्फत नागरिकको हक अधिकारको रक्षा र वातावरण संरक्षण (वृक्षारोपण) का क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय छ ।

लामो समय स्वतन्त्र रूपमा सामाजिक काम गरेकी झाको राजनीतिप्रतिको दृष्टिकोण ‘जेल भरो’ आन्दोलन र पछिल्लो राजनीतिक अस्थिरतापछि परिवर्तन भयो । ‘हिजोका दलहरू जनताका लागि दलदल बनिसकेका थिए, जहाँ जनतालाई फसाउने काम मात्र हुन्थ्यो । देशलाई हसाउन र जनता बचाउनका लागि मैले एउटा नयाँ र वैकल्पिक बाटो रोज्नुपर्ने भयो,’ राजनीतिमा आउनुपर्ने कारण बताउँदै उनले भनिन् । उनको सोचमा रास्वपाको एजेन्डा मिलेपछि उनी यस पार्टीमा आबद्ध भइन् र छोटो समयमै जनताको विश्वास जित्न सफल भइन् ।

संसदमा पुगेपछि उनले बेरोजगारी समस्यालाई मुख्य मुद्दा बनाउने बताउँछिन् । मोरङ ५ को घर–घरबाट युवाहरू विदेश पलायन भइरहेको अवस्थाप्रति उनी चिन्तित छिन् । उनले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न कलकारखाना र उद्योगको विकास गर्ने, कृषिलाई आधुनिक र वैज्ञानिक प्रणालीमा लैजाने, शिक्षित र अशिक्षित दुवै तहका जनशक्तिलाई सीपअनुसारको काम दिने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएकी छिन् । ‘मैले बोलेका कुराहरू आगामी ४–५ वर्षभित्रै सम्भव बनाएर देखाउनेछु,’ उनले भनिन् ।

आशा झाको अर्को रोचक पाटो उनको व्यावसायिक परिचय पनि हो । उनी मधेस मुलुकै पहिलो महिला निर्माण व्यवसायीसमेत हुन् । लामो समय उनले आफ्नै कम्पनीमार्फत निर्माण व्यवसायमा काम गरिन् ।
उनको सफलतामा श्रीमान अमृत कुमार झाको ठूलो सहयोग छ । जो स्वयं एक समाजसेवी र व्यवसायी हुन् । झाका तीन सन्तान छन् । जेठी छोरी सिभिल इन्जिनियरिङको अन्तिम वर्षमा अध्ययनरत छिन्, कान्छी छोरीले आईटी पूरा गरेकी छिन् भने छोरो कक्षा १० मा पढ्दैछन् ।

स्वास्थ्य सेवा, नागरिक समाज र निर्माण व्यवसायको अनुभव सँगालेकी आशा झा अब संसदमा मोरङको आवाज बनेर पुगेकी छिन् । झाले आफ्नो क्षेत्रको विकास र बेरोजगारी अन्त्यका लागि आगामी दिनमा कस्तो भूमिका खेल्छिन् त्यही भूमिकाले उनको राजनीतिक भविष्य कोर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।