लोड हुँदैछ...

मेनु

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत हिमाली जिल्ला ताप्लेजुङमा मतगणना सुरु भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठक सम्पन्न भएपछि शुक्रबारबाट औपचारिक रूपमा मतगणना सुरु गरिएको हो।

मतगणनाका लागि जिल्ला अदालत परिसरभित्र तारजालीले घेराबार गरिएको दुई स्थानमा मतगणनास्थल तयार पारिएको छ। सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीको कडा सुरक्षा व्यवस्थाबीच मतगणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाभर रहेका ८१ मतदान स्थलका १ सय २७ मतदान केन्द्रबाट खसेका मतपेटिका क्रमशः मतगणनास्थलमा ल्याएर सुरक्षित राखिएको छ। हिमाली तथा दुर्गम क्षेत्रका ओलाङचुङगोला, याङ्मा, घुन्सा र ग्याब्ला मतदान केन्द्रका मतपेटिका भने हेलिकोप्टरमार्फत सदरमुकाम फुङ्लिङ ल्याइएको थियो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलमा पुगेपछि सर्वदलीय सहमतिमा मतगणना सुरु गरिएको हो। मतगणना प्रतिनिधिसभा क्षेत्र अनुसार चरणबद्ध रूपमा अघि बढाइने र परिणाम क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन उम्मेदवारका प्रतिनिधि, राजनीतिक दलका पर्यवेक्षक तथा सुरक्षा निकायको उपस्थितिमा मतगणना भइरहेको छ। मतगणना सकिन केही समय लाग्ने अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।