विराटनगर। प्रतिनिधि सभाको निर्वाचनमा कोशी प्रदेशमा ५८.६० प्रतिशत मतदान भएको छ। कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेशका १४ वटै जिल्लामा गरी कुल २० लाख ९४ हजार ४८३ मत खसेको छ। कोशी प्रदेशमा कुल ३५ लाख ७४ हजार ३१० जना मतदाता रहेका थिए।
खसेको कुल मतमध्ये महिलाको संख्या १० लाख ६९ हजार ५०२ र पुरुषको संख्या १० लाख २४ हजार ९७४ रहेको छ भने अन्य ७ जनाले मतदान गरेका छन्। तथ्याङ्क अनुसार मोरङ जिल्लामा सबैभन्दा बढी ६४.५६ प्रतिशत मतदान भएको छ भने खोटाङमा सबैभन्दा कम ४२.८५ प्रतिशत मात्र मत खसेको छ।
मोरङ जिल्लामा ६ वटा निर्वाचन क्षेत्रमा कुल ५ लाख ५ हजार ५१४ मत खसेको छ। मोरङमा कुल ७ लाख ८३ हजार ५० मतदाता रहेका थिए। खसेको कुल मतमध्ये महिलाको सहभागिता पुरुषको तुलनामा बढी देखिएको छ। तथ्याङ्क अनुसार २ लाख ६२ हजार १९६ महिला, २ लाख ४३ हजार ३१६ पुरुष र २ जना अन्यले मतदान गरेका छन्।
मोरङका ६ वटा क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत मत खसेको छ भने क्षेत्र नम्बर १ मा सबैभन्दा कम ६०.३६ प्रतिशत मतदान भएको छ।
निर्वाचन क्षेत्र नं. १ मा ६०.३६ प्रतिशत अर्थात् ७७ हजार ५८५ मत खसेको छ। त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा ६२.९७ प्रतिशत अर्थात् ८१ हजार ३४५ जनाले मतदान गरेका छन्। निर्वाचन क्षेत्र नं. ३ मा ६१.१७ प्रतिशत अर्थात् ९६ हजार ६७७ मत खसेको छ। त्यसैगरी क्षेत्र नं. ४ मा ६७.१५ प्रतिशत अर्थात् ८० हजार ६४ मत खसेको छ भने क्षेत्र नं. ५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत अर्थात् ७८ हजार ५२९ मत खसेको छ। निर्वाचन क्षेत्र नं. ६ मा ६६.२३ प्रतिशत अर्थात् ९१ हजार २९२ मत खसेको छ।
झापामा ६४.२४ प्रतिशत मतदान भएको छ। ५ वटा निर्वाचन क्षेत्रमा कुल ४ लाख ५८ हजार ३६२ मत खसेको छ। झापामा कुल ७ लाख १३ हजार ५३७ जना मतदाता रहेका थिए।
सुनसरीमा ६३.६२ प्रतिशत मतदान भएको छ, जहाँ ३ लाख ६९ हजार ६०० जनाले मतदान गरेका छन्। इलाममा ५७.०४ प्रतिशत मत खसेको छ, जहाँ १ लाख ३२ हजार २१४ जनाले मतदान गरेका छन्। धनकुटामा ५४.३१ प्रतिशत अर्थात् ६४ हजार ३१५ मत खसेको छ भने तेह्रथुममा ५३.५९ प्रतिशत अर्थात् ३९ हजार १९३ मत खसेको छ।
त्यसैगरी संखुवासभामा ५२.६१ प्रतिशत अर्थात् ६२ हजार ९३७ मत, उदयपुरमा ५२.१५ प्रतिशत अर्थात् १ लाख २४ हजार ५९० मत, ताप्लेजुङमा ५१.३७ प्रतिशत अर्थात् ४६ हजार ४०२ मत खसेको छ। पाँचथरमा ४९.६३ प्रतिशत अर्थात् ७१ हजार १७० मत, सोलुखुम्बुमा ४८.४१ प्रतिशत अर्थात् ४१ हजार ४०१ मत, ओखलढुंगामा ४८.१४ प्रतिशत अर्थात् ५९ हजार ७९ मत, भोजपुरमा ४६.१७ प्रतिशत अर्थात् ५८ हजार ६९ मत र खोटाङमा ४२.८५ प्रतिशत अर्थात् ६३ हजार ३५ मत खसेको छ।
तथ्याङ्क अनुसार तराईका तीन जिल्ला (मोरङ, झापा र सुनसरी) मा मतदानको उत्साह बढी देखिएको छ भने पहाडी र हिमाली जिल्लाहरूमा औसत मतदान ५० प्रतिशतको हाराहारीमा रहेको छ। मतदान कार्य सकिएसँगै अहिले सबै जिल्लाका मतपेटिकाहरू संकलन गरी मतगणना स्थलमा लैजाने कार्य भइरहेको छ। धेरैजसो स्थानमा बिहीबार रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी विनोद घिमिरेले प्रदेशभर निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए। केही फाटफुट घटना बाहेक सबै जिल्लामा उत्साहजनक र सुरक्षित वातावरणमा मतदान सम्पन्न भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।