विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा भएको मतदानको अन्तिम र आधिकारिक विवरण सार्वजनिक भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार यस पटकको निर्वाचनमा झापामा समग्रमा ६४.२४ प्रतिशत मतदान भएको छ । जिल्लाभर रहेका कुल ७ लाख १३ हजार ५ सय ३७ मतदातामध्ये ४ लाख ५८ हजार ३ सय ६२ जनाले आफ्नो मताधिकार प्रयोग गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
जिल्लाभरको मतदानको प्रकृति हेर्दा पुरुषको तुलनामा महिला मतदाताको सहभागिता निकै उत्साहजनक देखिएको छ । कुल खसेको ४ लाख ५८ हजार ३ सय ६२ मतमध्ये २ लाख ४२ हजार ५ सय ७५ मत महिलाले खसालेका छन् भने २ लाख १५ हजार ७ सय ८५ मत पुरुषको रहेको छ । यस्तै अन्य विधाबाट २ जनाले मतदान गरेका छन् । निर्वाचन क्षेत्रगत आधारमा हेर्दा झापा क्षेत्र नं. २ मा सबैभन्दा बढी अर्थात् ६५.२५ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम क्षेत्र नं. ३ मा ६२.७९ प्रतिशत मत खसेको छ ।
विवरण अनुसार क्षेत्र नं. १ मा १ लाख ३१ हजार ६७ मतदातामध्ये ८३ हजार ८ सय २२ जना अर्थात् ६३.९५ प्रतिशतले मतदान गरेका छन् । त्यस्तै, क्षेत्र नं. २ मा १ लाख ४७ हजार ५ सय २२ मतदाता रहेकोमा ९६ हजार २ सय ५३ जनाले मतदान प्रक्रियामा भाग लिएका छन् । क्षेत्र नं. ३ मा भने १ लाख ४० हजार ८ सय ५७ मतदातामध्ये ८८ हजार ४ सय ४९ मत मात्र खसेको छ । यता क्षेत्र नं. ४ मा १ लाख ३० हजार ७ सय १२ मतदाता रहेकोमा ८३ हजार ४ सय ६६ अर्थात् ६३.८५ प्रतिशत मतदान भएको छ भने क्षेत्र नं. ५ मा १ लाख ६३ हजार ३ सय ७९ मतदातामध्ये १ लाख ६ हजार ३ सय ७२ जना अर्थात् ६५.११ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।