लोड हुँदैछ...

मेनु

ओखलढुंगाको मानेभञ्ज्याङ ७ टोक्सेल मतदान केन्द्रमा कर्मचारीको मात्र मत खस्यो

ओखलढुंगाको मानेभञ्ज्याङ ७ टोक्सेल मतदान केन्द्रमा कर्मचारीको मात्र मत खस्यो

विराटनगर । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीय बासिन्दाले अस्पताल निर्माणको माग पूरा नभएको भन्दै प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेका छन्।

बिहीबार भएको मतदानमा सातसल्ले मतदान केन्द्र मा स्थानीय मतदाताको एक मत पनि नखसी मतदान प्रक्रिया सम्पन्न भएको हो।

स्थानीयहरूले निर्वाचन बहिष्कार गरेका कारण अस्थायी मतदाता अर्थात् निर्वाचनमा खटिएका कर्मचारीहरूले मात्रै मतदान गरेर मतपेटिका सिलबन्दी गरेका हुन् । समानुपातिकमा ४ जना कर्मचारीले मात्रै मतदान गरेर मटपेटिका सिल गरिएको हो ।

वडासदस्य भीमबहादुर भुजेलका अनुसार सो केन्द्रमा ७०१ जना मतदाता रहेका थिए। तर, स्थानीयले सामूहिक रूपमा मतदान बहिष्कार गर्ने निर्णय गरेपछि मतदान केन्द्रमा कुनै पनि मतदाता पुगेनन्। सोही वडाको अर्को केन्द्र हर्कपुर मावि मतदान केन्द्र मा भने ५७६ मतदातामध्ये मतदान सामान्य रूपमा सम्पन्न भएको थियो।

स्थानीयका अनुसार सो क्षेत्रमा प्रदेशस्तरीय अस्पताल निर्माणका लागि उनीहरूले प्रदेश सरकारलाई १६५ रोपनीभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। तर, वर्षौँ बित्दासमेत निर्माण प्रक्रिया अघि नबढेपछि असन्तुष्ट बनेका स्थानीयले यसपटक निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन्।

बहिष्कारको निर्णय फागुन १८ गते होलीको दिन औपचारिक रूपमा गरिएको थियो। सो निर्णयबारे जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगलाई समेत जानकारी गराइएको स्थानीयले बताएका छन्। विगतका चुनावमा दलका झण्डा बोकेर घरदैलो गर्ने कार्यकर्तासमेत यसपटक बहिष्कार अभियानमा सहभागी भएको बताइन्छ।

स्थानीयको मुख्य गुनासो जग्गा हस्तान्तरणसँग जोडिएको छ। “अस्पताल बन्छ भनेर १६५ रोपनी जग्गा सरकारको नाममा पास गरिदियौँ, तर भवन निर्माणको एउटा इँटा पनि थपिएको छैन,” एक स्थानीयले गुनासो गरे। सरकारको उदासीनताप्रति दबाब सिर्जना गर्न मत नहाल्ने निर्णय गरिएको उनीहरूको भनाइ छ।

स्थितिको गम्भीरता बुझ्दै मेखबहादुर मंग्राती नेतृत्वको प्रशासनिक टोली घटनास्थल पुगेको थियो। उनले स्थानीयलाई मतदानमा सहभागी हुन आग्रह गरे पनि कोही पनि मतदान केन्द्रमा नगएको बताए।

प्रशासन र सुरक्षा निकायले दिनभर प्रयास गरे पनि स्थानीयहरू मतदान केन्द्रभित्र नगई बाहिर समूह बनाएर बसेका थिए। कुनै मतदाता मतदान गर्न जाने हो कि भनेर वरिपरि निगरानीसमेत गरिएको थियो।

दलका प्रतिनिधिहरू समेत मतदान केन्द्रमा नआएपछि वैकल्पिक रूपमा स्थानीय जनप्रतिनिधिलाई रोहबरमा राखेर मतदान प्रक्रिया सञ्चालन गरिएको थियो। अन्ततः स्थानीय मतदाता नआएपछि निर्वाचनमा खटिएका कर्मचारीहरूले मात्रै मतदान गरेपछि मतपेटिका सिलबन्दी गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।