लोड हुँदैछ...

मेनु

ओली–बालेनको क्षेत्रमा ७० प्रतिशत खसेको अनुमान, मतगणना आजै सुरु गर्ने तयारी

ओली–बालेनको क्षेत्रमा ७० प्रतिशत खसेको अनुमान, मतगणना आजै सुरु गर्ने तयारी

विराटनगर । झापामा आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाभर करिब ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।

जिल्ला निर्वाचन अधिकृत तुलसी कुमार नेपालले दिएको जानकारी अनुसार, जिल्लाका विभिन्न मतदान केन्द्रहरूबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा ६५ प्रतिशतभन्दा बढी मत खसेको हो । झापा क्षेत्र नं. ५ मा भने जिल्लाको औसतभन्दा केही बढी मतदान भएको पाइएको उनले बताए । त्यहाँ ७० प्रतिशत हाराहारी मतदान भएको अनुमान छ ।

‘हाम्रो अस्थायी सूचना प्रणाली मार्फत प्राप्त विवरण अनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक प्रतिवेदन तयार भएको छ । झापा क्षेत्र नं. ५ मा यो प्रतिशत अझ केही बढी देखिएको छ,’ नेपालले भने ।

उनले अहिले जिल्लाका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन गर्ने कार्य भइरहेको बताए । राति ९ बजेसम्ममा सबै मतपेटिकाहरू संकलन भइसक्ने र त्यसपछि मुचुल्का तथा सिल नम्बर रुजु गर्ने कार्य सुरु हुनेछ ।

‘मतपेटिकाहरू रुजु गर्न करिब राति १० देखि ११ बजेसम्म लाग्न सक्छ,’ उनले भने, ‘त्यसपछि पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय र सर्वपक्षीय बैठक राखेर आजै रातिबाट मतगणना प्रारम्भ गर्ने हाम्रो योजना छ ।’ झापाका पाँचवटै निर्वाचन क्षेत्रमा आजै रातिबाट गणना कार्य सुरु गर्ने गरी तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।