विराटनगर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरूले आजदेखि औपचारिक रूपमा चुनावी प्रचार–प्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा र कोणसभा जस्ता गतिविधि गर्न पाइने व्यवस्था बमोजिम आजदेखि प्रचार–प्रसार खुला भएको हो ।
आजदेखि सुरु भएको यो प्रचार–प्रसारको अवधि आगामी फागुन १८ गते राति १२ बजेसम्म रहनेछ । सो समयभित्र राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातासमक्ष पुगेर औपचारिक रूपमा मत माग्न र सञ्चारमाध्यममा आफ्ना चुनावी सामग्रीहरू प्रकाशन वा प्रसारण गर्न पाउनेछन् ।
निर्वाचन आयोगले निर्वाचनको निष्ठा र स्वच्छतालाई मध्यनजर गर्दै आचारसंहिताको पूर्ण पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आचारसंहिता उल्लङ्घन गर्ने जो कोहीलाई पनि आयोगले शून्य सहनशीलताुको नीति अपनाउनेछ ।
‘आचारसंहिता राजनीतिक दलहरूकै सहमतिमा निर्माण गरिएको हो, त्यसैले यसको पालना गर्नु उहाँहरूको दायित्व हो,’ कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने । आचारसंहिता उल्लङ्घन भएको पाइएमा स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने र गम्भीर अवस्थामा उम्मेदवारी समेत खारेज गर्न सक्ने कानुनी प्रावधान रहेको आयोगले प्रष्ट पारेको छ ।
आयोगले यसपटक अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गरिने प्रचारलाई पनि नियमन गर्ने भएको छ । दल र उम्मेदवारले तोकिएको मापदण्डमा रहेर पत्रपत्रिका तथा अनलाइनमा विज्ञापन दिन सक्नेछन् । तर, सामाजिक सञ्जालमा कसैको विरुद्धमा मिथ्या सूचना फैलाउने, दुष्प्रचार गर्ने वा द्वेषपूर्ण अभिव्यक्ति दिने कार्यलाई पूर्णतः निषेध गरिएको छ ।
निर्वाचन प्रचारका लागि आयोजना गरिने आमसभा वा कोणसभाको मञ्च तयारीमा लागेको खर्चको विवरण उम्मेदवारले आफैँ वा आफ्ना प्रतिनिधिमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले आफ्ना विभिन्न संयन्त्रमार्फत आचारसंहिता कार्यान्वयनको अनुगमन गरिरहेको र कुनै पनि अप्रिय कानुनी कारबाहीको अवस्था आउन नदिन राजनीतिक दलहरूलाई सचेत गराएको छ । आजदेखि प्रचार–प्रसार खुला भएसँगै देशभर चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।