झापा । झापाको मेचीनगर नगरपालिकास्थित बाहुनडाँगीका बासिन्दाहरू वर्षौंदेखि जंगली हात्तीको उपद्रोबाट पीडित छन्। तर, पछिल्लो समय सो क्षेत्रमा बाघको समेत प्रवेश भएपछि स्थानीयमा थप त्रास फैलिएको छ। हात्तीको सास्ती झेल्दै आएका बाहुनडाँगीवासी अहिले बाघको ‘आतंक’का कारण दोहोरो चपेटामा परेका हुन्।
मेचीनगर नगरपालिका–४, बाहुनडाँगीका स्थानीय वीरबहादुर राईको गोठमै पसेर बाघले बाख्रा मारेपछि गाउँलेहरू त्रसित बनेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बाघले राईको खोरभित्र बाँधिराखेका दुई वटा ब्याउने बाख्रा मारेको छ। यसबाट करिब ४० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
हात्ती प्रभावित क्षेत्रका रूपमा चिनिने बाहुनडाँगीमा यसअघि चितुवाको समेत फेला पर्ने गरेको थियो। अहिले बाघले प्रत्यक्ष रूपमा पशुचौपायामाथि आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा घरबाहिर निस्कन समेत डराउन थालेका छन्। बाघको खोजी कार्य जारी रहे पनि अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ।
वडाध्यक्ष अर्जुन कार्कीले हात्तीको समस्याबाट गुज्रिरहेको यस क्षेत्रमा पछिल्लो समय चितुवा र बाघको चहलपहल बढ्दा सुरक्षा चुनौती थपिएको बताउनुभयो। उहाँले स्थानीयलाई सावधानीपूर्वक हिँडडुल गर्न र सचेत रहन आग्रह समेत गर्नुभएको छ।
जंगली हात्तीले अन्नबाली र घरगोठ नष्ट गर्ने समस्या भोगिरहेका बाहुनडाँगीवासीलाई अहिले बाघले पशुधनको क्षति पुर्याउन थालेपछि जनजीवन थप कष्टकर बनेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।