लोड हुँदैछ...

मेनु

देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदै, सहिदहरूको योगदानको स्मरण

देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदै, सहिदहरूको योगदानको स्मरण

काठमाडौँ । देश र जनताको अधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदहरूको सम्मानमा आज देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवसु मनाइँदैछ । जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि बलिदानी दिने सहिदहरूको योगदानलाई स्मरण गर्दै हरेक वर्ष माघ १६ गते यो दिवस मनाउने गरिन्छ ।

प्रजातन्त्र प्राप्तिका लागि तत्कालीन राणा शासकहरू विरुद्ध आवाज उठाएको अभियोगमा मृत्युदण्ड पाएका चार महान् सहिदहरू– शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको विशेष स्मरण आज गरिँदैछ । उनीहरूकै बलिदान र प्रेरणाका कारण नेपालमा १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको थियो ।

इतिहासअनुसार, वि।सं। १९९७ मा स्वतन्त्रताको माग गर्दा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो ।

तिनै सहिदहरूको सम्मानमा माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताहु मनाउने गरिएको छ । वि.सं. २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो ।

आजका दिन देशभरका विभिन्न स्थानमा रहेका सहिद स्तम्भहरूमा माल्यार्पण गर्ने, प्रभातफेरी निकाल्ने र सहिदहरूको सपना साकार पार्ने प्रतिबद्धतासहित विभिन्न स्मृति सभाहरू आयोजना भइरहेका छन् । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूको समेत आज श्रद्धापूर्वक स्मरण गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।