लोड हुँदैछ...

मेनु

एमाले नेता भीम आचार्यको चुनाव नलड्ने घाेषणा

एमाले नेता भीम आचार्यको चुनाव नलड्ने घाेषणा

विराटनगर । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्यले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउनु पूर्व नै आचार्यले आफू चुनावी दौडबाट बाहिरिएको स्पष्ट पारेका हुन्।

२०७९ को निर्वाचनमा सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित आचार्यलाई यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्न पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रदेश इन्चार्ज शेरधन राईले प्रस्ताव गरेका थिए। तर, आचार्यले नेतृत्वको उक्त प्रस्ताव अस्वीकार गर्दै आफ्नो नाम सिफारिस नगर्न आग्रह गरेका छन्।

उनले भने, ‘आर्थिक कारणले म चुनाव लड्न सक्ने अवस्थामा छैन। अर्कोतर्फ हामीले मात्रै सधैं ओगटेर बस्दा नयाँ पुस्तामा निराशा छाउँछ।’ उनले आफ्नो क्षेत्रमा कसलाई टिकट दिने भन्ने निर्णय पार्टीको हातमा रहेको भन्दै कसैको नाम सिफारिस नगरेको बताए।

आचार्य एमालेको ११औँ महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका थिए। महाधिवेशनको मुखमै पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यद्यपि, मुद्दा विचाराधीन रहेकाले उनलाई चुनाव लड्न कानूनी बाधा भने थिएन। तर, राजनीतिक र व्यक्तिगत कारण देखाउँदै उनी यसपटक चुनावी मैदानबाट पछि हटेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds