विराटनगर । नेपाली कांग्रेसभित्र उत्पन्न नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई लिएर शेरबहादुर देउवा समूह र सभापति गगन थापा समूहबीचको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। गगन थापाले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पार्टीभित्रको समीकरण र आगामी रणनीतिलाई लिएर विभिन्न कोणबाट बहस सुरु भएको छ।
देउवा समूहले आफूमाथि अन्याय भएको भन्दै निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत र सडकमा जाने तयारी गरेको छ। तर, देउवा समूहकै नेता रमेशजङ्ग रायमाझी अब चुपचाप निर्वाचनमा लाग्नुपर्ने बताउँछन् । `अब अदालत गएर के हुन्छ ? हुने भईसक्याे । झन् विवाद बढाउनुकाे साटाे निर्वाचनमा एकताबद्ध भएर जानुपर्छ । वैशाखमा हुने महाधिवेशनकाे तयारी गर्नुपर्छ,´ रायमाझीले भने ।
उनले आफू चारतारे झन्डा र रूख चिन्ह जता हुन्छ त्यही हुने बताए । मेरो केही छैन... पार्टीको रुख, झण्डा जहाँ छ, त्यहीँ हो नि। हामी आफू सांसद हुँदा चाहिँ सांसद भएको मान्छे, रुखबाट चुनाव लडेको मान्छे, रुखको प्रतिनिधित्व गरेर मान्ने भएको मान्छेहरू... जहाँ रुख छ, त्यहीँ हो नि,´ रायमाझीले भने,पार्टी त खोल्दैनन् होला, अदालतसम्म जान सक्छन्। हामीलाई न्याय दिएन, हामीलाई अन्याय भयो भनेर जान सक्छन् भन्ने मेरो अनुमान हो। पार्टी फुटाउने कुरा चाहिँ हुँदैन होला ।´
पार्टीभित्रको तेस्रो धार मानिने डा. शेखर कोइरालाको भूमिकालाई लिएर पनि शंका र उपशंका उब्जिएका छन्। देउवा समूहसँग नजिकिँदै गएका शेखरले अन्ततः गगन थापासँग मिलेर अघि बढ्नुपर्ने साेही समूहका नेता बताउँछन् । अब चुनावमा गगनकै नेतृत्वमा जानुपर्छ,´ काेईराला निकट काङ्ग्रेस विराटनगर सभापति दिपक चापागाईंले भने,आन्दाेलनमा जाने, अदालत जाने भन्ने कुराकाे अर्थ छैन ।´
उनले पार्टीले जसलाई टिकट दिन्छ त्यसको पक्षमा माहोल बनाउने, चुनावमा भोट माग्दै हिँड्ने पनि बताए । `पार्टी कार्यकर्ताले गर्ने काम नै यही त हो नि,´ उनले भने ।
रूख र चारतारे झण्डा रहेकै ठाउँमा आफू रहने बताउँदै चापागाईंले सबै कार्यकर्ता त्यही रहने दाबी गरे । `गाछी र चारतारे जुन हो, त्यही हो हाम्रो कांग्रेस। नेतृत्व परिवर्तन भयो कि तर ग्रासमा चाहिँ पार्टी विभाजित छैन के। पार्टी चाहिँ एक ठाउँमै छ। जहाँ गाछी र चारतारे हुन्छ, त्यही हो कांग्रेस´, चापागाईंले भने ।
गगन थापा नेतृत्वको नयाँ कार्यसमितिले देउवा समूहलाई कसरी व्यवस्थापन गर्छ भन्नेमा कांग्रेसको भविष्य निर्भर हुने देखिन्छ। “यदि गगन थापाले देउवा समूहलाई समेटेर सम्मानजनक व्यवहार गरे भने पार्टी एकताबद्ध भएर चुनावमा जान सक्छ,” डाक्टर शेखर पक्षमा रहेर पनि विशेष महाधिवेशनमा सहभागी काेशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले भने, `अब सबैलाई मिलाएर जानुपर्छ । पेलेर जाने नीति लिनु हुँदैन ।”
कार्कीले आन्दोलन जान्छु भन्न पाउने भएपनि त्यसले केही फरक नपार्ने बताए । “आन्दोलन-सान्दोलन वाइयात कुरा हो, त्यो आन्दोलन गरेर केही फाइदा छैन। कानुनी लड्लान्, अदालतसम्म जालान्… तर सब कुरा गर्नु भनेको झन् विवादलाई, द्वन्द्वलाई बढाउँदै लानु हो,´ उनले भने ।
काङ्ग्रेस नेता कृष्ण सिटाैला पक्षका केन्द्रीय सदस्य भीम पराजुली पनि अदालत गएपनि पार्टी नफुट्ने बताउँछन् । ´अदालतले निर्णय दिएन भने नोमिनेसन (मनोनयन) प्रभावित हुन्छ। किनभने अब गगन थापाले एउटा टिम बनाउलान्, यताले अर्को टिम बनाउलान्। … तर, मेरो विचारमा पार्टी त फुट्नै हुँदैन,´ उनले भने ।
चुनाव लड्ने कि नलड्ने भन्ने परामर्शमा शेखर
डाक्टर शेखर काेईराला निकट स्राेतका अनुसार उनले आगामी निर्वाचनमा चुनाव लड्ने विषयमा परामर्श सुरू गरेका छन् । आज बिहान उहाँले (शेखर कोइरालाले) दुई-चार जनासँग 'म लड्दिन' भन्नु भाको छ,´ उक्त स्राेतले भन्याे,गगनकाे हातबाट टिकट लिएर नलड्ने मनस्थिति बनाएकाे बुझिन्छ ।´
यद्यपि काेईरालाका स्वकिय सचिव दिनेश थपलियाले यसबारे आफूलाई कुनै जानकारी नभएकाे बताए । `याे विषयमा मलाई कुनै जानकारी छैन,´ उनले भने ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।