विराटनगर । नेपाली कांग्रेसको विघटित केन्द्रीय समितिले निर्वाचन आयोगले पार्टीको आधिकारिकताबारे शुक्रबार गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ। शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णय दुराशयपूर्ण र पूर्वाग्रही भएको ठहर गर्दै कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता प्रकाशशरण महतले विशेष महाधिवेशनबाट निर्वाचित भनिएको कार्यसमितिलाई वैधानिकता दिने आयोगको कदम विधिसम्मत नभएको बताए । उनले १४औं महाधिवेशनबाट निर्वाचित पक्षको कुरा नै नसुनी एकलौटी र दूषित मनशायले निर्णय गरिएको आरोप लगाए ।
‘निर्वाचन आयोगले नजिर, विधान र कानुनी व्यवस्थाको पालना गरेन। यो लोकतान्त्रिक व्यवस्थालाई नै दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो,’ नेता महतले भने, ‘हामी भोलि आइतबार यसको विरुद्धमा सर्वोच्च अदालत जान्छौं।’
बैठकले आयोगको निर्णयले पार्टीलाई गम्भीर क्षति पुर्याउन खोजेको निष्कर्ष निकाल्दै अदालतबाट न्याय मिल्ने र स्टे अर्डर आउने विश्वास व्यक्त गरेको छ। उनीहरूले कानुनीसँगै राजनीतिक रूपमा पनि प्रतिरोध गर्ने चेतावनी दिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।