काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगको निर्णयसँगै पार्टीभित्रको अन्योल अन्त्य भएको बताउँदै अब सबै पक्षलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विशेष महाधिवेशनलाई आयोगले आधिकारिकता दिएपछि अनलाइनखबरसँग कुराकानी गर्दै सभापति थापाले आफू अब कुनै गुटको नभई सिंगो कांग्रेसको सभापति भएको स्पष्ट पारेका छन् ।
सभापति थापाले निर्वाचन आयोगको निर्णयलाई ‘स्वाभाविक र सकारात्मक’ रूपमा लिएका छन् । उनले विधि र विधानसम्मत ढंगले गरिएको अधिवेशनलाई संवैधानिक निकायले न्याय गरेको बताउँदै यसले लोकतान्त्रिक पद्धतिको जित भएको उल्लेख गरे ।
विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला पक्ष र अन्य सदस्यहरूलाई थापाले संयम रहन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो कसैको जित र कसैको हार होइन, केवल नेतृत्व परिवर्तनको एउटा लोकतान्त्रिक प्रक्रिया हो । म सबैलाई समेटेर अझ सुदृढ कांग्रेस बनाउन प्रतिबद्ध छु ।’
विगतमा आफूमाथि गरिएका कारबाही वा विमतिको बदला नलिने थापाले स्पष्ट पारेका छन् । उनले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको ‘अभिभावक र संरक्षक’का रूपमा सम्मान दिने र उनको अनुभवलाई उपयोग गर्ने बताए । विपक्षी साथीहरूमाथि कुनै पनि प्रकारको प्रतिशोधपूर्ण कारबाही नगरिने उनले उद्घोष गरे ।
थापाले आगामी वैशाख महिनामै पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेका छन् । विशेष महाधिवेशन एउटा विशेष परिस्थितिमा भएको भन्दै उनले अब वैधानिक र नियमित प्रक्रियाबाटै पार्टीलाई अघि बढाउने बताए ।
कांग्रेसमा लामो समयदेखि चल्दै आएको ६०–४० को गुटगत भागबन्डालाई यो विशेष महाधिवेशनले अन्त्य गरिदिएको दाबी थापाको छ । अब हुने निर्वाचनमा टिकट वितरण गर्दा कुनै पनि पक्षपात नगरिने र न्यायपूर्ण ढङ्गले क्षमताको आधारमा जिम्मेवारी दिइने उनले विश्वास दिलाए ।
नेता शेखर कोइरालाले लगाएको बाह्य शक्तिको षड्यन्त्र भन्ने आरोपलाई थापाले पुरानो पुस्ताको दुर्भाग्यपूर्ण प्रवृत्तिको संज्ञा दिए । प्रश्न उठ्दा षड्यन्त्र देख्नु कार्यकर्ताको अपमान भएको भन्दै उनले आफू नै यो परिवर्तनको मुख्य आह्वानकर्ता भएको स्पष्ट पारे ।
पार्टी कार्यालय सानेपामा अर्को पक्षले गरिरहेको अवरोधप्रति संकेत गर्दै थापाले कुनै पनि हालतमा मुठभेडको बाटो नरोज्ने बताए । ‘पार्टी भनेको विचार र आत्मा हो, कार्यालय मात्र होइन,’ भन्दै उनले केही समयको आक्रोशलाई धैर्यताका साथ व्यवस्थापन गर्ने रणनीति सुनाए ।
नेतृत्व फेरिए पनि देशको परराष्ट्र नीति र भू–राजनीतिक अडानमा पार्टीको मूल नीति र संविधानकै मार्गदर्शन रहने उनले स्पष्ट पारे । परिपक्व र सन्तुलित वैदेशिक सम्बन्ध नै आफ्नो प्राथमिकता हुने उनको भनाइ छ । सभापति थापाले अबको सम्पूर्ण ध्यान आगामी निर्वाचन र पार्टीको संगठन सुदृढीकरणमा केन्द्रित हुने बताउँदै सबै कांग्रेस जनलाई एकजुट हुन आह्वान गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।