लोड हुँदैछ...

मेनु

विवादकै बीच उम्मेदवार छान्दै गगन थापा

विवादकै बीच उम्मेदवार छान्दै गगन थापा

काठमाडौँ । निर्वाचन आयोगमा पार्टीको आधिकारिकतासम्बन्धी विवाद निरूपण हुन बाँकी रहेकै अवस्थामा गगन थापा नेतृत्वको नेपाली कांग्रेस उम्मेदवार छनोटको गृहकार्यमा लागेको छ।

विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको समूहले समय अभावका कारण आयोगको अन्तिम फैसला नपर्खिई चुनावको तयारी तीव्र पारेको हो।

पार्टीले उम्मेदवार तय गर्नका लागि ३ जना पदाधिकारी र २ जना केन्द्रीय सदस्य रहेको संसदीय बोर्ड गठन गरेको छ। निर्वाचन आयोगले छिट्टै निर्णय दिने विश्वास व्यक्त गर्दै पार्टीका एक पदाधिकारीले भने, ‘आयोगको निर्णय कुरेर बस्ने समय हामीसँग छैन, त्यसैले संसदीय बोर्डमार्फत उम्मेदवार छनोटको काम सुरु गरिसकेका छौँ।’

यो समूहले पार्टी विभाजन हुनुभन्दा अगाडि १६५ वटै निर्वाचन क्षेत्रबाट सिफारिस भई आएका नामहरूलाई नै आधार मानेर उम्मेदवार छान्न थालेको छ। छनोट प्रक्रियालाई तीन चरणमा बाँडिएको छ ।

पहिलो चरण : सर्वसम्मत रूपमा सिफारिस भएकाहरूको सूची तयार गर्ने। यसमा चुनाव नलड्ने घोषणा गरेकाहरूको नाम हटाइनेछ।
दोस्रो चरण : सिफारिस भएका व्यक्तिहरूको पृष्ठभूमि, कुनै विवाद वा इस्यु भए-नभएको निर्क्यौल गर्ने।
तेस्रो चरण : सिफारिसमै विवाद भएका क्षेत्रहरूमा केन्द्रित रहेर छलफल गर्ने र सम्भावित उम्मेदवारको सर्टलिस्ट तयार गर्ने।

सर्टलिस्ट गरिएका नामहरूमाथि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासहितको टोलीले प्रारम्भिक अध्ययन गर्नेछ। ‘भोलि मध्याह्नसम्म प्रारम्भिक सूची तयार हुन्छ र अपराह्नसम्म संसदीय बोर्डको बैठकले उम्मेदवारहरूको नामलाई अन्तिम रूप दिनेछ,’ ती पदाधिकारीले जानकारी दिए।

आयोगमा वैधानिकताको लडाइँ लडिरहेको यो समूहले साङ्गठनिक रूपमा आफूलाई सक्रिय राख्दै निर्वाचनमा बलियो उपस्थिति जनाउने रणनीति लिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds