विराटनगर । कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये ११ निर्वाचन क्षेत्र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्वाधिक चर्चामा रहने देखिएको छ । त्यसमा पनि सर्वाधिक चर्चा झापा ५ हुने देखिएको छ ।
गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मूल बिरासत लिएर रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह झापा ५ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन् । काठमाडौंको मेयर पदबाट राजीनामा दिएर चुनाव लड्न आउने भन्दै उनले सोही अनुसार गर्न रास्वपा झापाका नेताहरुलाई निर्देशन नै दिइसकेका छन् । सोही निर्वाचन क्षेत्रमा हुनेछन् जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली । एमाले अध्यक्ष केपी शर्मा ओली ४८ सालयता सोही क्षेत्रबाट निर्वाचन लड्दैछन् । लोकप्रियताको बाढी लिएर बालेन शाह सो क्षेत्रमा निर्वाचन लड्ने भएपछि ओलीले बिहीबार शाहलाई लक्षित गर्दै शब्दबाण प्रहार सुरु गरिसकेका छन् ।
‘कोही कोही केपी ओलीसँग लड्न जान्छु चुनाव भनेर तामझाम गरेर, हामीले नचिन्ने खालका नोट लिएर पुगेका छन् निर्वाचन क्षेत्रमा, यी त हामी झेलिराखेकै छौँ,’ काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संघर्ष गरेर यहाँ सम्म आएका हौँ, संघर्ष गरेर यहाँ टिकेका हौँ । संघर्ष गरेर यहाँ टिक्छौँ, संघर्ष गरेर जित्छौँ, सफल हुन्छौँ, देशलाई सफल बनाउँछौँ । नेपाल हार्दैन, नेपाललाई हार्न दिइँदैन, किनभने यहाँ नेकपा एमाले छ । नेपाल हार्दैन, नेपाललाई हार्न दिइँदैन ।’ उनले ठग र लुसिफरहरूले युवालाई देशविरुद्ध उकासिरहेको बताए । उनले भनेका यस्ता अभिव्यक्तिहरुले नै थाहा हुन्छ झापा ५ को प्रतिस्पर्धा रोचक हुनेछ ।
यस्तै झापा २ पनि यस पटकको निर्वाचनमा चर्चामा रहनेछ । त्यहाँ सभामुख देवराज घिमिरे र एमालेका केन्द्रीय सदस्य अग्नि खरेलमध्ये एक जना उम्मेद्वार हुनेछन् । एमाले निकट स्रोतले बताएअनुसार सभामुख घिमिरे नै त्यहाँ उम्मेद्वार हुने सम्भावना छ । उक्त क्षेत्रमा काँग्रेसले विशेष महाधिवेशनबाट निर्वाचित सुधिर सिवाकोटीलाई उम्मेद्वार बनाउने चर्चा छ । योसँगै रास्वपाले पनि सो क्षेत्रमा आफूले जित्ने सम्भावना रहेको बताएको छ ।
यस्तै झापा ३ पनि सँधै चर्चामा रहने क्षेत्र हो । यो क्षेत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्दै आएका छन् । लिङ्देनलाई २०७४ र २०७९ सालमा एमालेले सघाएको थियो । यो पटक के गर्छ भन्ने टुंगो छैन । यद्यपि झापा ५ बाट आफ्नो जित सुरक्षित गर्न ओलीले लिङ्देनलाई यस पटक पनि सघाउँछन् भन्नेको कमी छैन । यस्तै दुर्गा प्रसाईले पनि झापा ३ बाटै चुनाव लड्ने बताउँदै आएका छन् । सो क्षेत्रमा काँग्रेसबाट सँधैजसो प्रतिस्पर्धामा रहने कृष्ण सिटौला हाल राष्ट्रियसभा सदस्य छन् । सो क्षेत्रबाट उनका छोरा श्यामप्रसाद सिटौलाको चर्चा छ ।
यस्तै मोरङ ६ पनि यस पटक चर्चामा रहने छ । काँग्रेसका बरिष्ठ नेता डाक्टर शेखर कोइराला यही निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका छन् । गएको निर्वाचनमा उनी यही क्षेत्रबाट विजयी बनेका थिए । यस पटक पनि काँग्रेसले उनको नाम एकल सिफारिस गरेको छ । यस्तै सो क्षेत्रबाट एमालेका नेता विनोद ढकालको नाम पनि चर्चामा छ ।
यस्तै नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, नेकपाका नेता अजम्बर राई, नेकपा (माओवादी)का नेता दिपेश राई, प्रगतिशिल लोकतान्त्रिक पार्टीका संयोजक सुदन किराँतीको क्षेत्र मानिएको भोजपुर पनि यस पटकको निर्वाचनमा चर्चामा रहनेछ । एमालेले सचिव राईको एकल नाम सिफारिस गरिसकेको छ । नेकपाले काङ्माङलाई दिने पक्का जस्तै छ । यस्तै माओवादीका दिपेश राईको पनि टुंगो लागेको जनाइएको छ । उता, प्रलोपाका संयोजक सुदन किराँतीले भने भोजपुरबाटै चुनाव लड्ने स्पष्ट भनिसकेका छैनन् ।
यस्तै इलाम २ पनि यस पटक चर्चामा हुनेछ छ । उक्त क्षेत्रमा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङ उम्मेद्वार बन्नेछन् । यस्तै ताप्लेजुङमा एमालेका उपमहासचिव योगेश भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङ पनि चर्चामा रहने छ । अध्यक्ष ओलीभन्दा फरक कित्ताबाट उपमहासचिव जितेका भट्टराइले टिकट पाउने नपाउने अझै स्पष्ट भइसकेको छैन । एमालेले सो क्षेत्रबाट केन्द्रीय सदस्य क्षितिज थेबेलाई उम्मेद्वार बनाउन सक्ने चर्चा पनि छ । नेकपाले सो क्षेत्रबाट खेलप्रसाद बुढाथोकीलाई उम्मेद्वार बनाउने सम्भावना धेरै छ ।
यस्तै चर्चामा रहने अर्को निर्वाचन क्षेत्र भनेको सुनसरीको १ नम्बर निर्वाचन क्षेत्र पनि हो । सो क्षेत्रमा धरानका मेयर हर्क साम्पाङ चुनावमा लड्ने बताइसकेका छन् । गएको स्थानीय निर्वाचनमा धरानको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएर बिजयी बनेका उनी श्रम संस्कृति पार्टी निर्माण गरेर चुनावमा होमिएका छन् । सो क्षेत्रबाट जसपाका संयोजक अशोक राई पनि उठ्ने चर्चा छ ।
यस्तै सुनसरीको क्षेत्र नम्बर ३ र ४ पनि यस पटक चर्चामा रहनेछ । काँग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्र कार्की क्षेत्र नम्बर ४ बाट तथा अर्का नेता विजयकुमार गच्छदार सुनसरी ३ बाट सिफारिस भएका छन् । अघिल्लो निर्वाचनमा एमालेका जगदिश कुसियैतसँग थोरै मतले मात्रै विजयी भएका कार्की यस पटकपनि सोही क्षेत्रबाट लड्ने बताइएको छ । उता, एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीबाट पहिलो हारको स्वाद चाखेका गच्छदार यस पटक चौधरीलाई पराजयको स्वाद चखाउने रणनीतिमा छन् ।
यस्तै यस पटक एमालेका सचिव भानुभक्त ढकाल तेह्रथुमबाट चुनाव लड्ने बताउँदै आएका छन् । यसअघि मोरङको क्षेत्र नम्बर ३ बाट दुई पटक निर्वाचन लडेका ढकाल ०७४ मा विजयी बन्दा ०७९ सालमा काँग्रेसका सुनिल शर्माबाट पराजित बनेका थिए ।
यस्तै मोरङको क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री तथा नेकपाका नेता अमनलाल मोदी र एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेको प्रतिस्पर्धाले पनि रोचक बनाउने देखिन्छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।