काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद निर्वाचन आयोगको ढोकासम्म पुगेको छ । पार्टीको संस्थापन पक्षले शुक्रबार बिहान निर्वाचन आयोग पुगेर आफूहरू नै आधिकारिक भएको दाबी पेश गरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरू विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे र डा.शेखर कोइराला सहितका नेता तथा कार्यकर्ताहरूको टोली आयोग पुगेको हो । उनीहरूले पार्टीले आधिकारिक रूपमा विशेष महाधिवेशन आह्वान नगरेको अवस्थामा गगन थापाको नेतृत्वमा बनाइएको कार्यसमिति पूर्णतः अवैध भएको दाबी गरेका छन् ।
यसअघि बिहीबार मात्रै विशेष महाधिवेशन पक्षले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा वैधानिकताको लडाइँ सुरु भएको हो ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेपछि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले काठमाडौँमा महाधिवेशन आयोजना गरेका थिए ।
यता, संस्थापन पक्षले भने पार्टीको विधान उल्लंघन गरेको भन्दै महामन्त्रीद्वय थापा र शर्मासहितका नेताहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । संस्थापन पक्षले उक्त विशेष महाधिवेशनलाई अवैध ठहर गर्दै आफू मातहतको संरचना नै वास्तविक नेपाली कांग्रेस भएको जिकिर आयोगसमक्ष गरेको छ ।
दुवै पक्षले दलबलसहित आयोग पुगेर आधिकारिकता दाबी गरेपछि अब निर्वाचन आयोगले पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनका आधारमा कुन पक्ष आधिकारिक हो भन्ने फैसला गर्नेछ । यस घटनाले नेपाली कांग्रेसमा आएको फुटले औपचारिक रूप लिएको संकेत गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।