विराटनगर । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिमा कोशी प्रदेशबाट तीन पदाधिकारीसहित २१ जना केन्द्रीय समितिमा चयन भएका छन् ।
गगनकुमार थापाको नेतृत्वमा बनेको कार्यसमितिमा कोशी प्रदेशका उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित तीन जना पदाधिकारी तथा २१ जना केन्द्रीय सदस्य अटाएका हुन् ।
कोशीबाट पुराना केन्द्रीय सदस्य कमैले मात्र विषेश महाधिवेशनलाई साथ दिएकोले अधिकांश केन्द्रीय सदस्य नयाँ छन् । यसअघिधको कार्यसमितिमा महामन्त्री रहेका झापाका विश्वप्रकाश शर्मा उपसभापति बनेका छन् भने मोरङका गुरुराज घिमिरे महामन्त्री र डा.डिला संग्रौला सहमहामन्त्री बनेका छन् । घिमिरे यसअघि काँग्रेस कोशी प्रदेश सभापतिमा उद्धव थापासँग पराजित भएका थिए भने संग्रौला केन्द्रीय सदस्य थिइन् । यसअघि घिमिरे डा.शेखर कोइराला निकट र संग्रौला शेरबहादुर देउवा निकट थिए ।
यसअघि केन्द्रीय सदस्य रहेका मोरङका अमृत अर्याल केन्द्रीय सदस्य नै बनेका छन् । लामो समय संस्थापन पक्षमा रहेका अर्यालले केहि समय अगाडि मात्र थापा समूहमा खुलेका थिए ।
अर्याल कोशी प्रदेशसभाका सदस्य हुन् । उनीबाहेक नयाँ केन्द्रीय समितिमा कोही पनि बहालवाला जनप्रतिनिधि छैनन् ।
जिल्लागत रूपमा हेर्दा झापाबाट उपसभापति विश्वप्रकाश शर्मासँगै केन्द्रीय सदस्य (पुरुष खुला) मा सुधीर सिवाकोटी निर्वाचित भएका छन् । शिवाकोटी यसअघि संविधानसभा सदस्य भएका थिए । पाँचथरबाट केन्द्रीय सदस्य सुरेशकुमार योड्या निर्वाचित भएका छन् भने आदिवासी जनजाति (खुला) क्लस्टरबाट पाँचथरकै नरेन्द्र केरुङ केन्द्रीय समितिमा अटाएका छन् ।
मोरङ जिल्लाबाट यसपटक सबैभन्दा बढी नेताहरू केन्द्रीय समितिमा पुगेका छन् । महामन्त्री गुरुराज घिमिरे र सहमहामन्त्री डा.डिला सङ्ग्रौला पन्तसहित केन्द्रीय सदस्य (पुरुष खुला) अमृत अर्याल,महिलामा शारदादेवी कोइराला, खुलामा अञ्जन पौडेल, अल्पसंख्यकमा शिवनारायण सिंह गनगाई, खसआर्य महिलामा इन्दिरा कार्की र खस आर्य खुलामा विश्वनाथ रिजाल केन्द्रीय समितिमा निर्वाचित भएका छन् । उनीहरुमध्ये कार्की २०७४ मा विराटनगर महानगरपालिकाको उपमेयर भएकी थिइन् ।
उदयपुरबाट केन्द्रीय सदस्य (पुरुष खुला) विदुर बस्नेत निर्वाचित भएका छन् भने आदिवासी जनजाति महिलामा उदयपुरकै प्रमिला राई केन्द्रीय समितिमा पुगेकी छन् । सुनसरीबाट केन्द्रीय सदस्य महिलामा दिलकुमारी राई, मधेसीमा गोमा अन्सारी र थारु महिलामा नवोदिता चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । चौधरी २०७४ मा समानुपातिकतर्फ कोशी प्रदेश सांसद भएकी थिइन् ।
इलामबाट खुला क्लस्टरमा हिमालय कर्माचार्य केन्द्रीय सदस्य बनेका छन् । सङ्खुवासभाबाट आदिवासी जनजाति क्लस्टरमा तारामान गुरुङ र धनकुटाबाट आदिवासी जनजाति महिलामा लीलादेवी बोखिम लिम्बू केन्द्रीय समितिमा अटाएकी छन् । ओखलढुंगाबाट खस आर्य महिलामा बाला अधिकारी केन्दीय सदस्य निर्वाचित भएकी छन् ।
विशेष महाधिवेशनमा कोशी प्रदेशबाट ४२५ जना महाधिवेशन प्रतिनिधिहरूले सहभागिता जनाएको विषेश महाधिवेशन पक्षधरले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।