लोड हुँदैछ...

मेनु

बालेनको चुनाबी प्रचारको लागि दमकमा खोजियो तीन घर

बालेनको चुनाबी प्रचारको लागि दमकमा खोजियो तीन घर

विराटनगर । झापा क्षेत्र नं. ५ बाट अगामी प्रतिनिधिसभाको उम्मेदवार बन्ने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) का लागि दमकमा तीनवटा घर खोजिएको छ ।

फागुन २१ गतेको निर्वाचनलक्षित चुनावी प्रचारका लागि तीन वटा घर खोजिएको रास्वपा झापा सभापति प्रकाश पाठकले जानकारी दिए ।

दुईवटा घर चुनावी प्रयोजनका लागि टुङ्गो लगाइएको छ । एउटा दमक नगरपालिका–३ क्याम्पस मोडमा खोजिएको छ भने अर्को दमक– ५ मा खोजिएको छ । अर्को घर पनि दमकभित्रै खोजिएको उनले जानकारी दिए । एउटा घरमा बालेन बस्ने बताइएको छ । घरहरुको भिडियो, तस्वीर बालेनको सचिवालयलाई पठाएको उनको भनाइ छ ।

बालेनको सचिवालयका सदस्य दमक आएर कार्यालय व्यवस्थापनको काम गर्ने पाठकको भनाइ छ । चुनावी प्रचार, रणनीतिलगायतका कार्य सोही तीन अफिसमा बसेर बनाउने योजना छ । बालेनका लागि यी घरहरू दुई महिनाका लागि भाडामा लिइएको हो ।

पाठकका अनुसार बालेन ४ माघमा जनकपुरमा हुने विशेष सभालाई सम्बोधन गरेर सिधै झापा आउनेछन् । उनले ६ माघमा दमकस्थित झापा निर्वाचन क्षेत्र– ५ को कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नेछन् ।

उम्मेदवारी दर्ताको दिन विशेष र्‍यालीको व्यवस्था गर्न क्षेत्रीय समिति सक्रिय भएर लागेको पाठकले जानकारी दिए । झापा–५ मा यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रतिस्पर्धा गर्दै आएका छन् । ओलीसँग प्रतिस्पर्धा गर्न शाहले झापा जाने बताउँदै आएका छन् ।

रास्वपा सभापति रवि लामिछानेका कानुन व्यवसायी यज्ञमणि न्यौपाने बालेन झापा–५ मा आउने सम्भावना ९९ प्रतिशत रहेको बताएका छन्
। यसअघि सो क्षेत्रबाट उनी आफैं उम्मेदवार बन्ने बताउँदै आएका थिए । क्षेत्रमा सर्वेक्षण गर्दा युवा, महिला र उद्यमीको समर्थन बालेनको पक्षमा देखिएकोले उनी उम्मेदवार बन्न लागेको न्यौपानेले दावी गरे ।

झापा ५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा १ देखि ८ र गौरीगन्ज गाउँपालिकाको ३, ४, ५ र ६ नम्बर वडा समेटिएको छ।

चुनाव लड्ने भएपछि शाहले काठमाडौं महानगर मेयरबाट माघ ४ गते राजीनामा दिने बताइएको छ । झापा–५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। सो क्षेत्रमा २०४८ यता लगातार उम्मेदपार बन्दै आएका ओलीले २०६४ मा माओवादी उम्मेदवारबाट पराजित भएको बाहेक सँधै विजयी बन्दै आएका छन् ।

झापा–५ मा १ लाख ६३ हजार ३७९ जना मतदाता रहेका छन्। त्यहाँ ६१ मतदान स्थल र १८५ केन्द्र तोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds