लोड हुँदैछ...

मेनु

काङ्ग्रेस विशेष महाधिवेशनः गगन थापा सभापति चयन, यस्ताे छ उनकाे ईतिहास

काङ्ग्रेस विशेष महाधिवेशनः गगन थापा सभापति चयन, यस्ताे छ उनकाे ईतिहास

काठमाडौं । नेपाली कांग्रेसभित्रको लामो आन्तरिक संघर्ष र विवाद अन्ततः पार्टी विभाजनको मोडमा पुगेको छ। गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले आयोजना गरेको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापतिमा चयन गरेको छ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विधानबमोजिम बोलाइएको भनिएको यो विशेष महाधिवेशनले बुधबार राति थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको हो। यद्यपि, यसको औपचारिक घोषणा हुन बाँकी छ।

कारबाही र प्रति-कारबाहीको श्रृंखला

चार दिनदेखि जारी विशेष महाधिवेशनले थापालाई नेतृत्वमा चुन्नुअघि बुधबार दिउँसो शेरबहादुर देउवा पक्षीय केन्द्रीय समितिले कठोर निर्णय लिएको थियो। देउवा पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।

तर, गगन-विश्व पक्षको विशेष महाधिवेशनले देउवा पक्षको उक्त कारबाहीलाई ‘विधान विपरीत’ ठहर गर्दै खारेज गरिदिएको छ। विधान अनुसार बहुमत प्रतिनिधिहरूको उपस्थितिमा भएको महाधिवेशन नै वैधानिक रहेको दाबी यो समूहको छ।

कसरी पुग्यो कांग्रेस यो अवस्थामा ?

पछिल्लो समय ‘जेनजी आन्दोलन’ पछि कांग्रेसमा नेतृत्व रूपान्तरणको बहस पेचिलो बनेको थियो। महामन्त्रीद्वय थापा र शर्माले चुनावअघि नै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने एजेन्डा अघि सारेका थिए। तर, संस्थापन पक्ष (देउवा समूह) ले यो प्रस्ताव अस्वीकार गरेपछि असन्तुष्टि चुलिँदै गयो। अन्ततः आफ्ना एजेन्डा स्थापित नहुने देखेपछि थापा समूहले विद्रोहको बाटो रोजेको हो। यो समूहले देउवासँगको सम्बन्ध विच्छेद गर्दै नयाँ नेतृत्व चयन गरेको छ।

गगन: सडकदेखि सत्ता र सभापतिसम्मको यात्रा

२०४६ सालको जनआन्दोलनमा १४ वर्षको उमेरमै ‘बाल कांग्रेस’ भएर होमिएका गगन थापाको राजनीतिक यात्रा सधैं उतारचढावपूर्ण रह्यो। २०५७ सालमा नेविसंघको उपाध्यक्ष र २०५९ मा महामन्त्री बनेका थापाले तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा गणतन्त्रको नारा घन्काउँदा धेरैपटक राजद्रोहको मुद्दा खेपे।

सडकबाट परिवर्तनको शंखघोष गर्ने थापाले २०७३ सालमा स्वास्थ्यमन्त्री हुँदा सुधारका प्रयासहरू थालेर आफ्नो कार्यक्षमता प्रदर्शन गरेका थिए। पार्टीभित्र सधैं प्रतिपक्षी स्वर राख्ने उनले १२औं महाधिवेशनमा सर्वाधिक मतसहित केन्द्रीय सदस्य जितेका थिए भने १३औं मा महामन्त्रीमा पराजित भए पनि १४औं महाधिवेशनमा सोही पदमा विजयी भएका थिए।

पार्टी नेतृत्वले गरेका गलत निर्णयविरुद्ध निरन्तर प्रश्न उठाइरहने थापाले अन्ततः पार्टीलाई रूपान्तरण गर्न भन्दै ‘विष पिएर’ भए पनि विद्रोहको बाटो रोजेका छन्। नरहरि आचार्य लगायतका नेताहरूले सुरु गरेको वैचारिक अभियानलाई गगन-विश्व जोडीले विशेष महाधिवेशनमार्फत मूर्तरूप दिने प्रयास गरेका छन्।

अब नेपाली कांग्रेसको वैधानिकता र भविष्यको लडाइँ निर्वाचन आयोग र अदालतसम्म पुग्ने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds