काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मंसुरलाई कारबाही गर्न विधान नै संशाेधन गरेकाे पाईएकाे छ ।
सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई बुधबार पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले तीनैजना पदाधिकारीलाई कारबाही गर्ने निर्णय गरेको हो । विशेष महाधिवेशनको माग उठेपछि पार्टीभित्र चर्किएको विवादका बीच संस्थापन पक्षले यो कठोर कदम चालेको हो ।
स्पष्टीकरणको मौका नदिन विधान नै संशोधन
पदाधिकारीहरूलाई कारबाही गर्ने क्रममा संस्थापन पक्षले विधानको ‘बाधा अड्काउ फुकाउ’ (धारा ७१) अधिकार प्रयोग गरी विधानका अन्य धाराहरूमा संशोधन गरेको छ । सामान्यतया कारबाही गर्नुअघि सफाइको मौका वा स्पष्टीकरण सोध्नुपर्ने व्यवस्थालाई पन्छाउन विधानको धारा ३४ का उपधाराहरू संशोधन गरिएको हो ।
केन्द्रीय कार्यसमितिले धारा ३४ को उपधारा ८ (ग) र (घ) मा संशोधन गरेको छ:
१. सिधै कारबाही गर्ने अधिकार: संशोधित व्यवस्थाअनुसार अब जिल्ला वा प्रदेशको सिफारिस बिना पनि पार्टीको विधान, नीति र आचारसंहिता विपरीत कार्य भएको जानकारी केन्द्रीय कार्यसमिति वा अनुशासन समितिलाई भएमा सिधै जुनसुकै तहको कारबाही गर्न सकिनेछ ।
२. सफाइको मौका नदिइने: साविकको व्यवस्थामा कारबाही गर्दा ‘सफाइ दिने मौकाबाट कसैलाई वञ्चित गरिने छैन’ भन्ने उल्लेख थियो । तर, बुधबार गरिएको संशोधनमा ‘अपर्झट रूपमा अनुशासनसम्बन्धी कारबाही गर्नु/गराउनु परेको अवस्थामा सफाइको मौका दिनुपर्ने व्यवस्था अनिवार्य हुनेछैन’ भन्ने वाक्यांश थपिएको छ ।
यही संशोधित प्रावधानमा टेकेर देउवा पक्षले महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरलाई कुनै स्पष्टीकरण वा सफाइको मौका नदिई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । यो निर्णयसँगै कांग्रेसभित्रको विभाजन सतहमा आएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।