काठमाडौं । नेपाली कांग्रेस चुनावको सम्मुखमा विभाजित भएको छ । कांग्रेसको संस्थापनपक्ष र विशेष महाधिवेशनपक्षबीच सहमति नभएपछि विभाजन भएको हो ।
दुईदिनदेखि निरन्तर दुईपक्षबीच सहमतिको प्रयास भएको थियो । विशेष महाधिवेशनपक्षले संस्थापन पक्षसँग नौवटा माग राखेको थियो । त्यसमध्ये अधिकांश माग भने संस्थापनपक्षले अस्वीकार गरेको थिएन । मुख्यगरी सभापति शेरबहादुर देउवालाई तत्काल छोड्न र संरक्षक बस्न गरेको आग्रह भने संस्थापनपक्षले अस्वीकार गर्दै आइरहेको थियो । त्यही कारण विशेष महाधिवेशनपक्षधरबीच सहमति जुट्न नसकेको हो ।
आजै बिहान पनि कारबाहीअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सभापति देउवानिवास पुगेका थिए । देउवाले बोलाएर उनीहरू संवादका लागि गएका थिए । तर, त्यतिबेलाको छलफलले पनि गति भने लिएन र दिनभरका प्रयास असफल भएपछि सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकले महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरालाई पनि कारबाही गर्यो ।
त्यसको प्रतिक्रियामा भृकुटीमण्डपमा विशेष महाधिवेशनपक्षधरले चर्को नाराबाजीसहित जुलुस गरे । बन्दसत्रको हलले कारबाही खारेज गर्यो । अनि, बन्दसत्रले निर्वाचन प्रक्रिया अघि बढाइसक्यो । उता कारबाहीको पत्र निर्वाचन आयोगमा संस्थापन पक्षले पुर्याइसकेको छ । अर्थात् कांग्रेस विभाजनका सम्भावित सात साइड इफेक्टबारे चर्चा गरौँ ।
चुनाव प्रभावित
कांग्रेस विभाजनले सबैभन्दा पहिला २१ फागुनको प्रतिनिधिसभाको चुनाव प्रभावित हुने भएको छ । विभाजित कांग्रेसले थोरै पनि गति नलिई चुनावमा जाने अवस्था हुँदैन । कांग्रेसबिनाको चुनाव हुने सम्भावना कम छ । यसबीचमा कांग्रेसमा सबैभन्दा पहिला वैधानिकताको लडाइँ हुँदै छ । त्यो लडाइँले चुनावलाई स्वतः प्रभावित बनाउनेछ ।
वैधानिकता नपाएको समूहका लागि संगठन निर्माण, चुनाव चिह्नलगायतका सबै प्रक्रिया पूरा गर्न पनि समय चाहिन्छ । त्यस अर्थमा चुनाव प्रभावित हुने निश्चित छ । चुनावको सम्मुखमा भएको विभाजनले चुनाव सर्ने हो कि टर्ने हो भन्ने खतरा पनि बढेको छ ।
राजनीतिक अस्थिरता
कांग्रेस विभाजनले अस्थिर राजनीतिलाई बढवा दिनेछ । कांग्रेसको विभाजन कांग्रेसको आन्तरिक जीवनका लागि मात्र होइन, नेपालको राजनीतिक जीवनका लागि अर्थपूर्ण हुनेछ । अर्थात्, यो विभाजन आन्तरिक राजनीतिका लागि नै दख्खल पुर्याउने घटना बन्नेछ । लोकतन्त्रको लडाइँमा लामो समय संघर्ष गरेको र राजनीतिक एजेन्डा सेट गर्ने दलको विभाजन अस्थिर राजनीतिको कारक बन्ने सम्भावना देखिन्छ ।
लोकतन्त्रमाथि खतरा
कांग्रेसको विभाजनले तत्कालका लागि चुनाव सर्ने सम्भावना र त्यसले राजनीतिक अस्थिरतालाई बल पुर्याउने परिघटनाबाहेक लोकतन्त्रमाथि नै प्रश्न उठ्नेछ । चुनाव सर्दा सिर्जना हुने अस्थिरताले लोकतन्त्र नै खतरामा पर्ने अवस्था आउने सम्भावना देखिन्छ ।
पपुलिस्ट राजनीतिलाई प्रश्रय
वैचारिक राजनीतिक दलहरूको विभाजनले पपुलिस्ट राजनीतिले प्रश्रय पाउने सम्भावना हुन्छ । अर्थात्, वैचारिक एजेन्डासहितको राजनीतिभन्दा सामाजिक सञ्जालबाट गरिने राजनीतिले प्राथमिकता पाउने सम्भावना हुन्छ । त्यसले चुनावमा पनि यस्तो राजनीतिले प्रभाव पार्ने सम्भावना हुन्छ । लोक रिझ्याइँको राजनीति हावी हुँदा नेपालमा बलियो राजनीतिक शक्ति नहुने सम्भावना रहन्छ ।
भूराजनीतिक चलखेल
कांग्रेसको विभाजनसँग सर्ने चुनाव र बढ्ने राजनीतिक अस्थिरताले भूराजनीतिक चलखेल थप बढाउनेछ । पछिल्ला वर्षमा नेपालमा भूराजनीतिक चासो मात्र होइन, चलखेल पनि बढाएको छ । त्यसले थप प्राथमिकता पाउनेछ । नेपालको सरकार बनाउने र ढाल्ने खेलमा शक्तिराष्ट्रहरू हावी हुने सम्भावना रहन्छ । बलियो शक्तिसहितको दल र सरकार नहुँदा त्यस्तो अवस्थामा शक्ति केन्द्रले सरकार चलाउने विडम्बनापूर्ण अवस्था पनि आउन सक्छ ।
एमालेमा डर
कांग्रेसको विभाजनले दोस्रो ठूलो दल एमालेको आन्तरिक जीवनमा पनि प्रभाव पर्ने सम्भावना रहन्छ । कांग्रेसभित्रको विद्रोहको साइड इफेक्ट एमालेमा पर्ने अवस्था आउने सम्भावना देखिन्छ । एमालेमा यसअघि पनि विद्रोहको प्रयास नभएको होइन तर कांग्रेसजस्तो बलियो भने हुन सकेन । त्यसैले, एमालेभित्र गुम्सिएको उकुसमुकुस पोखिनका लागि बल पुग्नेछ ।
रास्वपालगायतका पार्टीलाई फाइदा
चुनाव भएको अवस्थामा कांग्रेस विभाजनको फाइदा रास्वपाले लिने सम्भावना रहन्छ । कांग्रेसको भोट विभाजित हुने र एमालेप्रतिको भर घट्दो क्रममा रहेका कारण पपुलिस्ट राजनीति गरिरहेको रास्वपासहितका अन्य दलहरूले फाइदा लिने सम्भावना देखिन्छ ।
– शिलापत्रबाट साभार




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।