विराटनगर । फेरि एक पटक झापा निर्वाचन क्षेत्र नम्बर ५ आगामी फागुन २१ गते हुने निर्वाचनको केन्द्रबिन्दु बन्ने भएको छ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नयाँ शक्तिको रुपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारिएका काठमाडौंका मेयर बालेन साहबीच सोही क्षेत्रमा प्रतिस्पर्धा हुने सम्भवना बढ्दैछ ।
एमाले र अध्यक्ष ओलीका लागि देशभरमै सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र हो झापा ५ । २०४८ सालयता ओलीले एक पटक ६४ सालमा सो क्षेत्रबाट निर्वाचन हारेपनि त्यसअघि र पछि उनी अपराजित छन् । यो पटक बालेन साहले सोही क्षेत्रबाट चुनाव लड्ने निकटस्थहरुलाई भनिसकेका छन् । यसकारण पनि झापा ५ को चर्चा झनै चुलिएको छ ।
रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठक यस पटक ओलीलाई आफ्नो पार्टीले पराजित गर्ने दाबी गर्छन् । ओलीसँग भीड्न गए बालेन साह पराजित हुने धेरैले अनुमान गरिरहँदा पाठक भने त्यो सत्य नभएको दाबी गर्छन् । ‘उहाँ (बालेन)ले लामो छलफलपछि मेरो तयारी झापा–५ बाटै उठ्ने छ भन्ने कुरा प्रष्ट रूपमा राख्नुभएको छ,’ उनले भने, ‘जित्नेमा हामी ढुक्क छौँ । ओलीबालाई हराउन बालेन नै चाहिन्छ भन्ने पनि छैन । तर, उहाँ आउँदा झनै सहज हुन्छ ।’
पाठक बालेन शाह झापा जानुमा कुनै पारिवारिक सम्बन्ध नभई यो विशुद्ध राजनीतिक कनेक्सन भएको बताउँछन् । कुनै कनेक्सन र योगदान बिना नै किन त्यहाँ सिँगौरी खेल्न जान लाग्नु भएको त भन्ने प्रश्नमा उनले भने, ‘त्यहाँ ओलीलाई परास्त गर्न र राजनीतिक सिँगौरी खेल्न नै जान लागेको हो । चुनाव भनेको प्रतिस्पर्धा हो । संग्राम हो ।’ उनका अनुसार बालेन शाहको जित्ने आधार भनेको रास्वपाको संगठन र चुनाव चिन्ह ‘घण्टी’ नै हो । त्यसका साथै नयाँ पुस्ता र त्यहाँको विशिष्ट जनमत रहेको उनको दाबी छ । ‘मतदाताले बालेनलाई विगतको योगदानभन्दा पनि भोलिको आशा, विश्वास र सम्भावनाका साथै मुलुक निर्माणको आधारस्तम्भको रूपमा हेर्नेछन्,’ उनले दाबी गरे ।
बालेनले झापा ५ बाट चुनाव लड्नुमा चाहिँ उनकै इच्छा र पार्टीको स्वीकृति रहेको पाठकको दाबी छ । ‘झापाबाट लड्ने कुरामा बालेन शाहको पहिले देखिको इच्छा र चितवन पछि बलियो संगठन मानिने झापा जिल्ला कमिटीको तयारी दुवै कारक हुन्,’ पाठकले भने, ‘केन्द्रीय समितिले बालेनलाई काठमाडौं, महोत्तरी वा अन्य सुरक्षित जिल्लाको विकल्प दिए पनि बालेन शाह स्वयम्ले भने झापा–५ लाई नै केन्द्रित गरेर अभियान चलाइरहनु भएको छ ।’
तर, एमाले अध्यक्ष ओलीको लाल किल्ला मानिने यस क्षेत्रमा दशकौँदेखि जरा गाडेको ओलीको विरासत छ । अर्कोतिर युवा पुस्तामा लोकप्रिय बनेका बालेन साहको सम्भावित लहर छ । यो चुनावी लडाइँ केवल दुई व्यक्तिको प्रतिस्पर्धा मात्र नभई पुरानो सङ्गठनात्मक शक्ति र नयाँ पुस्ताको विद्रोहबीचको परीक्षण बन्ने देखिएको छ ।
एमाले नेता एवं पूर्व महान्यायाधिवक्ता अग्नि खरेल झापा–५ मा ओलीको विकल्प देख्दैनन् । खरेलका अनुसार ओलीको यो क्षेत्रसँगको सम्बन्ध भावनात्मक र विकास केन्द्रित छ । ‘केपी ओली ४८ सालदेखि यही क्षेत्रबाट लड्दै आउनुभएको छ, उहाँले कहिल्यै निर्वाचन क्षेत्र बदल्नुभएन । उहाँ यहाँको माटो, मान्छे र विकाससँग भिज्नुभएको छ, त्यसैले यो उहाँका लागि पूर्णतः सेफ जोन हो,’ खरेल भन्छन् ।
दमकमा भएका सडक, पुल र भौतिक पूर्वाधारका कामहरू नै ओलीका जित्ने मुख्य आधार भएको खरेलको दाबी छ । उनले बालेन शाहको सम्भावित आगमनलाई सिँगौरी खेल को संज्ञा दिँदै भने, ‘प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत हुने व्यक्तिले यस्तो रिस्क जोनमा चुनाव लड्नु हुन्न । कसैको उक्साहटमा लागेर सिँगौरी खेल्न आउनु आवेग र उत्तेजना मात्र हो, राजनीतिमा यसको परिणाम घातक हुन सक्छ ।’ खरेलले पनि विगतमा जस्तो अध्यक्ष ओलीका लागि सहज भने नहुने र निर्वाचन क्षेत्रमै बढी इन्गेज हुनुपर्ने बताए ।
स्थानीय स्तरमा पनि ओलीको पक्षमा बलियो तर्क गर्नेहरू छन् । केही स्थानीय विश्लेषकहरू ओलीलाई ‘चतुर खेलाडी’ मान्छन् । उनीहरूका अनुसार ओलीले दमकमा गरेको काम र एमालेको कट्टर कार्यकर्ताको सञ्जाललाई भत्काउन बाहिरी शक्तिलाई सहज छैन । ‘बालेन शाह युवा पुस्ताका लागि तात्कालिक लहर मात्र हुन्, तर ओली एउटा संस्था हुन्,’ काँग्रेस झापाका नेता ज्ञानमणि भुर्तेलले भने । उनी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको सम्भावित चुनावी तालमेलले विपक्षीहरूको सबै ढोका बन्द गरिदिने दाबी गर्छन् ।
तर, बालेन शाहको पक्षमा पनि उत्तिकै बलियो तर्क छ । प्राध्यापक धनन्जय बास्कोटाको विश्लेषणले एमालेको यो आत्मविश्वासलाई चुनौती दिन्छ । बास्कोटाका अनुसार अब सङ्गठित सदस्यको भरमा मात्र चुनाव जित्ने दिन सकिएका छन् । ‘अहिलेको समयले परिवर्तन मागेको छ । ३५–३६ वर्षदेखि एउटै मान्छे सांसद, मन्त्री र प्रधानमन्त्री भइरहेका छन् । जनताले पटक–पटक बहुमत र दुई तिहाइ दिए पनि आधारभूत समस्या समाधान नहुँदा नयाँ पुस्तामा चरम असन्तुष्टि छ,’ बास्कोटाले भने । २०७४ र २०७९ सालको चुनावमा ओलीले पाएको मत र अहिलेको परिस्थितिमा ठूलो अन्तर रहेको उनको दाबी छ ।
‘त्यतिबेला राष्ट्रवादको सुनपानीले ओलीलाई चोख्याएको थियो, तर अहिले त्यो लहर सकिएको छ । अहिले त बाबु–आमा एमाले–कांग्रेस भए पनि छोराछोरीले बालेनका लागि उनीहरूलाई कन्भिन्स गरिरहेका छन् । विशेषगरी विदेशमा रहेका सन्तानहरूले मोबाइलबाटै घरको भोट परिवर्तन गराइरहेका छन्,’ बास्कोटाले भने । झापा–५ मा जेन–जी विद्रोहको छाया देखिने सम्भावना बलियो रहेको उनको तर्क छ । काठमाडौँको मेयरका रूपमा बालेनले चालेका केही साहसिक कदमले यहाँका युवाहरूलाई आकर्षित गरेको उनको दाबी छ । यद्यपि परिणाम दुवैका लागि जोखिमपूर्ण आउन सक्ने उनको अनुमान छ । ‘यो निर्वाचन नयाँ र पुरानो पुस्ताबीचको एउटा अन्तद्वन्द्व हो । कसले जित्छ ठोकुवा गर्न सकिँदैन । दुवैका लागि जोखिम छ । कोही पनि ढुक्क हुने अवस्था हुँदैन,’ उनले भने ।
निर्वाचनको मैदानमा उत्रिने तयारीमा रहेका नेपाली कम्युनिष्ट पार्टीका युवा नेता रञ्जित तामाङ आफू सबै खालका उम्मेद्वारसँग प्रतिस्पर्धा गर्न तयार भएर बसेको बताउँछन् । ‘ओली विकासका संवाहक होइनन्, बरु राजनीतिक दुर्घटनाका कारक हुन्,’ तामाङ भन्छन्, ‘जसले तीन–तीन पटक मुलुकलाई राजनीतिक दुर्घटनामा पु¥यायो, संसद् विघटन गरेर लोकतन्त्रलाई संकटमा पार्यो, त्यस्तो व्यक्तिलाई अब चौथो पटक देश सुम्पन सकिँदैन ।’
तामाङले बालेन शाहलाई पनि अर्को अति भएको बताए । उनले बालेनको टेस्ट हुन बाँकी रहेको टिप्पणी गरे । ‘बालेनजी मेयर त हुनुभयो, तर उहाँ जनतामा अझै टेस्टेड हुनुभएको छैन । झापा आउँदा केवल ओलीसँग लड्न मात्र होइन, यहाँका सुकुम्बासी र सडक पेटीमा तरकारी बेचेर गुजारा गर्ने गरिबको पेटमा लात हान्दिनँ भन्ने बाचा गरेर आउनुपर्छ,’ तामाङले भने । उनले आफू देशलाई संकटमा धकेल्ने ओली र संकटमा पर्दा अगाडि उभिन नसक्ने दुवैजनासँग प्रतिस्पर्धा गर्ने बताउँछन् । ‘म देशलाई संकटमा धकेल्ने र देश संकटमा पर्दा नउभिने दुवै खाले प्रवृत्तिको भण्डाफोर गर्दै जनताको बीचमा जान्छु । चुनावी मैदानमा जो आए पनि मेरो स्वागत छ,’ उनले भने ।
एकातिर केपी ओलीको ३६ वर्ष लामो विरासत, स्थानीय विकास र एमालेको इस्पाती सङ्गठन छ । अर्कोतिर बालेन शाहको रूपमा आएको नयाँ पुस्ताको आकांक्षा र पुराना दलप्रतिको चरम वितृष्णा छ । बालेन शाहका लागि यो ‘सिँगौरी खेल’ आत्मघाती हुन्छ कि धनन्जय बास्कोटाले भनेजस्तो नयाँ पुस्ताको विद्रोहले ओलीको किल्ला भत्काउँछ ? यसको जवाफका लागि फागुन २१ सम्म कुर्नैपर्ने हुन्छ ।
रास्वपा झापाका कार्यबहाक अध्यक्ष पाठक भने देशले नै लखेटिसकेको पात्र केपी शर्मा ओलीलाई झापा–५ ले मात्र विवेक गुमाएर नबोक्ने बताउँछन् । ‘हामीलाई विश्वास छ, झापाले विवेक गुमाउँदैन,’ उनले भने ।
झापाका प्राध्यापक उत्तम भट्टराई भने पाठकको दाबीलाई काउन्टर दिन्छन् । ‘यहाँ विकास धेरै छ, राम्रो छ । गाउँगाउँमा बाटो पुगेको छ, पुल पुलेसा बनेका छन् । एउटै खोलामा ३–४ वटा पुल बनेका छन् जुन हामी सानो हुँदा वारपार गर्न कठिन हुन्थ्यो। गाउँमा समेत दुई लेनको बाटो पुगेको छ,’ भट्टराईले भने, ‘त्यसकारण केपी ओलीको प्रभाव यहाँ अत्यन्तै राम्रो छ । उहाँले अघिल्लो चुनावमा ५२ हजार मत ल्याउनुभएको थियो, अहिले यहाँ मतदाता ९ हजार बढेका छन् । उहाँले ५० हजार बढी मत ल्याएर चुनाव जित्नुहुन्छ ।’
उनी त बालेन साह झापा ५ बाटै चुनाव लड्छन् जस्तो नलागेको बताउँछन् । ‘मलाइ त बालेन साह चुनाव लड्न यहाँ आउँछन् जस्तो लाग्दैन । आएपनि उनी कुनै अद्भुत भगवान् होइन, मिडिया र एउटा पुस्ताले मात्र चर्चामा ल्याएको मात्र हो,’ भट्टराई भन्छन्, ‘बालेन वा रवि जो आए पनि ओलीलाई केही फरक पर्दैन । झापाको ५ नम्बर क्षेत्र एमालेका बलिया क्षेत्र हुन् । सबै विपक्षीहरू एक हुँदा पनि ओलीलाई डगमग गराउन सक्ने म देख्दिनँ ।’
२०७४ सालको निर्वाचनमा झापा ५ बाट केपी शर्मा ओलीले तत्कालिन माओवादीका साथै राप्रपासँग पनि गठबन्धन गरेका थिए । ओलीले पपुलर मत ल्याउनुमा राप्रपा र माओवादीको समर्थन पनि मुख्य कारण थियो । यस्तै २०७९ सालको निर्वाचनमा ओलीले राप्रपासँग गठबन्धन गरेका थिए । ओलीले पपुलर मत ल्याउनुमा त्यो बेला पनि राप्रपा र उक्त पार्टीका समर्थकको मत थियो ।
आउँदो फागुन २१ को निर्वाचनमा भने केपी शर्मा ओलीलाई राप्रपाले पुनः सहयोग गर्छ गर्दैन भन्ने टुंगो छैन । बालने साह उम्मेद्वार बन्दा राप्रपाले उनलाई सहयोग गर्छ कि गर्दैन भन्ने पनि टुंगो छैन । यद्यपि बालेन सााहको टोलीले राप्रपाबाट निर्वाचित दमकका मेयर राम थापासँग भने कुराकानी गरेको बताइएको छ । दुवै पक्षबीच के कुरा भयो भन्ने विषयमा भने आधिकारिक कुनै जानकारी आएको छैन । २०७९ सालको निर्वाचनमा एमालेले सो क्षेत्रबाट समानुपातिक तर्फ ३५ हजार ८७२ मत ल्याएको थियो भने दोस्रो स्थानमा रहेको रास्वपाले १८ हजार २०५, काँग्रेसले १६ हजार ८५९, माओवादी केन्द्रले ८ हजार ६८० र राप्रपाले ७ हजार ३७० मत ल्याएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।