लोड हुँदैछ...

मेनु

कारबाहीमा परेपछि गगन, विश्वप्रकाश र फरमुल्लाहको आक्रोश, के भने ?

कारबाहीमा परेपछि गगन, विश्वप्रकाश र फरमुल्लाहको आक्रोश, के भने ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशनस्थलमा राजनीतिक सरगर्मी बढेको छ ।

काठमाडौंमा जारी महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले देउवा पक्षको यो कदमको चर्को विरोध गरेका छन् भने कारबाहीमा परेका नेताहरूले यसलाई वैधानिक र राजनीतिक रूपमा अर्थहीन भएको टिप्पणी गरेका छन् ।

गगन थापाको आक्रोश र प्राइभेट कम्पनीको संज्ञा

कारबाहीको खबर सार्वजनिक भएलगत्तै गगन थापाले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै देउवा पक्षको निर्णयलाई वाहियातको संज्ञा दिएका छन् । उनले पार्टी कसैको निजी सम्पत्ति नभएको उल्लेख गर्दै आफूहरूले आज बिहान मात्रै सहमतिको प्रयास गरेको तर त्यसलाई बेवास्ता गरिएको खुलासा गरे ।

थापाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विशेष महाधिवेशनको हलबाटै भङ्ग भइसकेको घोषणा गर्दै आफूहरू नै बीपी र गणेशमानको वास्तविक सन्तान भएको दाबी गरे । उनले निर्वाचन आयोग र संविधानले आफूहरूको वैधानिकतालाई साथ दिनेमा दृढ विश्वास व्यक्त गर्दै कार्यकर्तालाई नअल्मलिन आग्रह गरेका छन् ।

विश्वप्रकाश शर्माको व्यङ्ग्य

अर्का महामन्त्री विश्वप्रकाश शर्माले कारबाहीको निर्णयलाई हास्यास्पद भन्दै यसको कुनै तुक नरहेको टिप्पणी गरे । उनले आफूले आज बिहानै महामन्त्री पदबाट राजीनामा दिएर नयाँ निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा संस्थापन पक्षले गरेको कारबाहीको कुनै वैधानिक आधार नरहेको बताए । शर्माले हजारौं प्रतिनिधिलाई दुवै हात उठाएर कारबाही अस्वीकार गर्न लगाएका थिए । उनले देश बनाउने सपना बोकेका युवाहरूलाई रोक्न खोजिएको भन्दै अबको कांग्रेस गगन थापाको नेतृत्वमा नयाँ ढङ्गले अघि बढ्ने उद्घोष गरेका छन् ।

फरमुल्लाह मन्सुरले गगनलाई घोषणा गरे सभापति

सहमहामन्त्री फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको हलबाट देउवा पक्षको निर्णयलाई खारेज भएको घोषणा गरे । उनले अबको केही समयभित्रै गगन थापालाई पार्टीको नयाँ सभापति घोषणा गरिने जानकारी दिए । मन्सुरले शेरबहादुर देउवाको विगतको इतिहास स्मरण गराउँदै हिजोका दिनमा पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएको व्यक्तिले अहिले इमानदार कार्यकर्तालाई कारबाही गर्नु विडम्बनापूर्ण भएको बताए । उनले अहिलेको विशेष महाधिवेशन नै नेपाली कांग्रेसको मूल प्रवाह भएको र यसले नै पार्टीलाई पुनर्जीवन दिने दाबी गरे ।

महाधिवेशनस्थलमा उपस्थित बहुमत प्रतिनिधिहरूले संस्थापन पक्षको कारबाहीलाई ठाडो चुनौती दिएका छन् । उनीहरूले हात उठाएर देउवाको निर्णयलाई अस्वीकार गर्दै ुजय नेपालु को नारा लगाएका थिए । विशेष महाधिवेशनको हलमा देउवा नेतृत्वको समितिलाई भङ्ग गरी गगन थापालाई नयाँ सभापतिको रूपमा अघि सार्ने प्रक्रिया सुरु भएसँगै कांग्रेसभित्रको शक्ति संघर्षले नयाँ मोड लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds