लोड हुँदैछ...

मेनु

शमशेर राई भन्छन –नेतृत्व फेर्न खोजेको हो, पार्टी फुटाउन होइन

शमशेर राई भन्छन –नेतृत्व फेर्न खोजेको हो, पार्टी फुटाउन होइन

विराटनगर । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि केन्द्रीय समितिले कारबाही गरेपछि कोशी प्रदेश सरकारका पूर्वमन्त्री एवं कांग्रेस नेता शमशेर राईले विशेष महाधिवेशनको प्रक्रिया छाडेका छन्। नेतृत्व परिवर्तनको पक्षमा उभिँदै विशेष महाधिवेशनको वकालत गर्दै आएका राईले पार्टी विभाजनको जोखिम बढेको भन्दै आफू फुटको पक्षमा नरहेको स्पष्ट पारेका हुन्।

महामन्त्रीद्वयमाथि कारबाही भएलगत्तै उत्पन्न परिस्थितिका कारण राई महाधिवेशन स्थलबाट फर्किएका छन् । उनले आफूहरू नेतृत्व फेर्नुपर्छ भन्ने पक्षमा भए पनि पार्टी नै फुटाउने पक्षमा कहिल्यै नरहेको दाबी गरे।

नेता राईले भने ‘अहिलेको अवस्था पार्टी फुटेको होइन, यसलाई कारबाही भएको भनिन्छ। हामी त झण्डा (मूल पार्टी) मै बस्ने हो, फुटमा कतै गइँदैन। नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामीले हस्ताक्षर गरेका हौँ, पार्टी फुटाउन होइन ।’

उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विगतमा दिएका अभिव्यक्ति स्मरण गर्दै आफूहरू आश्वस्त भएको बताए। राईले अगाडि भने, ‘गगन थापाले पार्टी फुट्यो भने विष खान्छु भन्नुभएको थियो। विश्वप्रकाशले पार्टी फुट्ने भए सबैभन्दा पहिले हल छोडेर म निस्किन्छु भन्नुभएको थियो । शीर्ष नेताहरूले पनि पार्टी फुट्न दिँदैनौँ भनेकाले नै हामीले यी बुढाहरूलाई (पुरानो नेतृत्व) फेरौँ न त भनेर सही गरेको हो। पार्टी पनि नफुट्ने र नेतृत्व पनि फेरिने भएपछि मात्र हामी लागेका हौँ।’

नेतृत्व फेर्ने नाममा पार्टी नै विभाजन हुने अवस्था आएपछि राईले पुरानै कित्ता फर्किएका छन् । उनले आफू कुनै पनि हालतमा विभाजनको हिस्सा नबन्ने र पार्टीकै झण्डामुनि रहने दृढता व्यक्त गरेका छन्। उनी शेखर कोइराला पक्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds