काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिचको निर्णायक भनिएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । पार्टीभित्रको विवाद समाधान र नेतृत्वको विषयमा सहमति खोज्न बुधबार बिहान देउवा निवास महाराजगन्जमा भएको छलफलमा दुवै पक्षले आ–आफ्ना अडान नछाडेपछि वार्ता निष्कर्षविहीन बनेको हो ।
विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला सहमतिको अन्तिम प्रयासस्वरूप यो भेटवार्ता भएको थियो । वार्तामा सहभागी नेता देवराज चालिसेका अनुसार सभापति देउवा नेतृत्व छाड्न तयार नभएपछि र महामन्त्रीद्वयले नेतृत्व परिवर्तनको अडान कायम राखेपछि कुनै ठोस सहमति जुट्न सकेन । छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू बालकृष्ण खाण, रमेश लेखक, डा. मिनेन्द्र रिजाल लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।
संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच कुरा नमिल्दा अब निर्वाचनमार्फत नै नेतृत्वको छिनोफानो हुने निश्चित भएको छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार सहमति जुट्न नसकेपछि अब निर्वाचनको प्रक्रियालाई तीव्रता दिइएको छ । सभापति देउवा पक्ष र शेखर कोइराला–गगन थापा पक्षबीच अब चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
यसअघि, विशेष महाधिवेशनको बन्दसत्रले मंगलबार नै पार्टीको नयाँ नीति पारित गरिसकेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका दुई छुट्टाछुट्टै साङ्गठनिक र राजनीतिक प्रतिवेदनहरू पारित भएसँगै महाधिवेशन अब पूर्ण रूपमा नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेको हो । निर्वाचन समितिले उम्मेदवारी मनोनयन लगायतका कामहरू अगाडि बढाइसकेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।