काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार १७ वटा चुनाव चिह्नका उम्मेदवारहरूले आयोगले तोकेको समयसीमा भित्र नाम फिर्ता लिएका हुन् ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बन्दसूचीमा नाम भएका उम्मेदवारलाई नाम फिर्ता लिनका लागि पुस २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय दिइएको थियो । उम्मेदवारहरूले आफैँ उपस्थित भएर वा वारेसमार्फत नाम फिर्ता लिएका हुन् । नाम फिर्ता लिनेमा सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ११० जना उम्मेदवार रहेका छन् । उक्त पार्टी अन्य दलसँग एकता प्रक्रियामा गएकाले यसअघि पेस गरिएका सबै उम्मेदवारको नाम बन्दसूचीबाट फिर्ता लिइएको आयोगले जनाएको छ ।
त्यसैगरी, जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका ६ र नेकपा (एमाले) का ५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । नेकपा (माओवादी केन्द्र) र राष्ट्र निर्माण दल नेपालका ४–४ जना तथा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उन्नत लोकतान्त्रिक पार्टी र नेकपाका २–२ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । अन्य साना दलहरू संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट १–१ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि राजनीतिक दलहरूले पुस १३ र १४ गते आयोगमा नाम पेस गरेका थिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र बाँकी ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।