लोड हुँदैछ...

मेनु

कांग्रेस विशेष महाधिवेशन : सहमति खोज्न देउवा र महामन्त्रीद्वयबिच महाराजगन्जमा निर्णायक वार्ता

कांग्रेस विशेष महाधिवेशन : सहमति खोज्न देउवा र महामन्त्रीद्वयबिच महाराजगन्जमा निर्णायक वार्ता

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेतृत्वको विषयलाई लिएर किचलो बढ्दै जाँदा सहमतिको अन्तिम प्रयासस्वरूप सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच वार्ता भइरहेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा सभापति देउवाले दुवै महामन्त्रीलाई बुधबार बिहानै छलफलका लागि आफ्नो निवास महाराजगन्ज बोलाएका हुन् ।

विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्रीद्वय थापा र शर्माले पार्टी सुधारका लागि देउवाले नेतृत्व छाड्नुपर्ने अडान राख्दै आएका छन्। यस विषयमा मंगलबार दिनभर र रातभर दुई पक्षबिच घनिभूत छलफल भए पनि कुनै सहमति जुट्न सकेको थिएन । दुवै पक्ष आफ्नो अडानबाट पछि नहटेपछि परिस्थिति निर्वाचनतर्फ धकेलिएको थियो ।

अहिले भइरहेको छलफलमा दुवै पक्षका शीर्ष नेताहरू पनि सहभागी छन् । देउवा निवासमा भइरहेको वार्तामा रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार र डा. मिनेन्द्र रिजाल लगायतका नेताहरू पनि सहभागी छन् ।

स्रोतका अनुसार सहमतिको मिलनविन्दु फेला पार्न संस्थापन पक्ष केही लचक हुने सङ्केत देखिएको छ । जसअन्तर्गत, आसन्न निर्वाचनमा उम्मेदवारलाई दिइने आधिकारिक टिकटमा सभापति देउवाको सट्टा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्ने गरी मध्यमार्गी प्रस्तावमा छलफल भइरहेको छ ।

यदि यो प्रस्तावमा महामन्त्रीद्वय सहमत भएमा विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया र भावी नेतृत्वको स्वरूपमा नयाँ मोड आउन सक्ने देखिन्छ । महाराजगन्जमा वार्ता जारी रहेकै बेला भृकुटीमण्डपमा भने निर्वाचन समितिले उम्मेदवारी मनोनयनको कामलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds