लोड हुँदैछ...

मेनु

नेपाली कांग्रेसको विशेष महाधिवेशन : निर्वाचन प्रक्रिया सुरु, उम्मेदवारी मनोनयन दर्ता हुँदै

नेपाली कांग्रेसको विशेष महाधिवेशन : निर्वाचन प्रक्रिया सुरु, उम्मेदवारी मनोनयन दर्ता हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले आज बिहानैदेखि उम्मेदवारी मनोनयन दर्ताको कार्य अगाडि बढाएको हो ।

निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार उम्मेदवारी मनोनयनका लागि बिहान ९ः१५ बजेसम्मको समय तोकिएको छ । मनोनयन दर्ताको प्रक्रिया सकिएलगत्तै निर्वाचनका अन्य प्राविधिक र प्रशासनिक कामहरूलाई तीव्रता दिइने समितिले जनाएको छ ।

पार्टीको पुरानै विधानअनुसार हुन लागेको यस निर्वाचनबाट कूल १३४ पदाधिकारी तथा सदस्यहरू निर्वाचित हुनेछन् । जसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ ।

विशेष महाधिवेशन सचिवालयका अनुसार यसपटक मतदाताको सङ्ख्यामा केही फेरबदल भएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कूल ४ हजार ७ सय ४३ मतदाता रहेका थिए । तर, तीमध्ये केही प्रतिनिधिको निधन भएको र केही अन्य राजनीतिक दलमा प्रवेश गरेका कारण हाल ४ हजार ६ सय ३५ जना महाधिवेशन प्रतिनिधिले मात्र मतदान प्रक्रियामा भाग लिन पाउने सचिवालयले जनाएको छ ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन भन्दै आयोजना गरिएको यो विशेष महाधिवेशनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उम्मेदवारी दर्ता सकिएपछि आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन र मतदानको समय तालिका सार्वजनिक गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds