विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी (निर्वाचन) प्रहरीमा भर्ना हुन मोरङमा युवाको भीड लागेकोक बेला धनकुटामा भने न्यून आवेदन गरेको छ ।
मोरङमा माग गरिएको संख्याभन्दा धेरैको आवेदन परिसककेको छ भने धनकुटामा अपेक्षाभन्दा निकै कम आवेदन दर्ता भएको छ ।
सरकारले पुस २५ गतेदेखि निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । धनकुटामा नेपाल प्रहरीतर्फ ९८९ र सशस्त्र प्रहरीतर्फ ९६ गरी कुल १ हजार ८५ निर्वाचन प्रहरीको माग भएको छ । तर, मंगलबारसम्म जम्मा ३९८ जनाले मात्र दरखास्त दिएका छन् । तीमध्ये ३ सय पुरुष र ९८ महिला छन्।
धनकुटा प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले आवेदन संख्या अपेक्षाभन्दा निकै कम रहेको जानकारी दिए । हालसम्मको दरखास्त संख्या सन्तोषजनक नरहेको भन्दै उनले यसले छनोटमै समस्या हुने बताए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वार्टर छारागाउँका लागि छुट्याइएको ९६ जनाको कोटामा सोमबारसम्म जम्मा १२ जनाले मात्र आवेदन दिएका छन् । सशस्त्र प्रहरीका डीएसपी प्रेमप्रसाद सिग्देलले आवेदन संख्या निकै न्यून रहेको बताए ।
मोरङमा भने म्यादी प्रहरी बन्न युवायुवतीको उल्लेख्य आकर्षण देखिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्लाका लागि तोकिएको ४ हजार ३८३ कोटामा म्याद सकिन अझै दुई दिन बाँकी रहँदै ४ हजार ७८१ जनाले आवेदन दिएका छन्। आवेदकमध्ये ३ हजार ४३७ पुरुष र १ हजार ३४४ महिला छन्।
मोरङका प्रहरी उपरीक्षक कविद कटवालका अनुसार अझै आवेदन अवधि बाँकी भएकाले संख्या थप बढ्ने अनुमान गरिएको छ। छनोटपछि म्यादी प्रहरीलाई विशेष तालिम दिएर निर्वाचन सुरक्षा, मतपेटिका ढुवानी र भिड व्यवस्थापनमा परिचालन गरिनेछ ।
म्यादी प्रहरीको लागि माघ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ। माघ ५ देखि ९ गतेसम्म छनोट प्रक्रिया पूरा गरी माघ १२ गते अन्तिम नतिजा प्रकाशन गर्ने र माघ १५ गतेदेखि तालिम सुरु गर्ने कार्यतालिका रहेको छ। निर्वाचन प्रहरीलाई ४० दिनका लागि खटाइने र प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसा पारिश्रमिक पाउने व्यवस्था गरिएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।