विराटनगर । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै करिब ८० हजार जनशक्ति परिचालन गर्ने भएको छ ।
निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुसार सेना परिचालन गरिने सेनाले जनाएको छ।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका सन्दर्भमा तयार गरिएको एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ। सोही योजनाअनुसार निर्वाचनको एक महिना अघिदेखि नै विभिन्न क्षेत्रमा सेना फिल्डमा परिचालन हुनेछ ।
सेनाले निर्वाचन सुरक्षालाई तीन चरणमा विभाजन गरेर जिम्मेवारी निर्वाह गर्नेछ। निर्वाचनपूर्व मतपत्र छपाइको सुरक्षा, निर्वाचनसँग सम्बन्धित संवेदनशील तथा महत्वपूर्ण संरचनाको सुरक्षा प्रमुख जिम्मेवारीका रूपमा रहनेछ। यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँग समन्वय र सहकार्य गरी विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा सुनिश्चित गरिनेछ।
निर्वाचन अवधिभर चार वटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय गर्दै सेनाले तल्लो तहसम्म एकीकृत तालिम र अभ्यास सञ्चालन गर्ने जनाएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो तालिम तथा अभ्यास गरिएको सेनाको भनाइ छ।
मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रहेर निर्वाचन स्थल तथा केन्द्रको सुरक्षा गर्नेछ। राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षालाई पूर्ण प्रत्याभूति दिन सेना परिचालित हुने प्रवक्ता बस्नेतले बताए।
मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी पनि नेपाली सेनाले बहन गर्नेछ। विगतका निर्वाचनमा झैं देशका विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरी निर्वाचन सुरक्षालाई थप मजबुत बनाइने जनाइएको छ।
निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्न प्रदेशस्तरमा सुरक्षा गोष्ठीहरू सञ्चालन भइरहेका छन्। ती गोष्ठीबाट प्राप्त सुझावका आधारमा सुरक्षा अवस्थाको मूल्याङ्कन र विश्लेषण गरी आवश्यक परे थप सुरक्षा व्यवस्था मिलाइने सेनाले स्पष्ट पारेको छ।
सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र जनप्रतिनिधिबीचको समन्वय र सहकार्यलाई सुदृढ बनाउँदै राज्यको प्राथमिक दायित्वका रूपमा निर्वाचन सुरक्षामा नेपाली सेना पूर्ण रूपमा तयार रहेको सेनाले जनाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।