लोड हुँदैछ...

मेनु

कोशी अस्पतालमा अत्याधुनिक ‘सिमुलेशन ल्याब’ स्थापना

कोशी अस्पतालमा अत्याधुनिक ‘सिमुलेशन ल्याब’ स्थापना

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्यकर्मीहरूको दक्षता अभिवृद्धिका लागि अत्याधुनिक ‘सिमुलेशन ल्याब’ स्थापना गरिएको छ । विश्व स्वास्थ्य संगठनको प्राविधिक तथा आर्थिक सहयोगमा अस्पतालको प्रसूति विभाग भवनको माथिल्लो तलामा उक्त ल्याब सञ्चालनमा ल्याइएको हो ।
ल्याबको उद्घाटन कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरी र निवर्तमान मेसु डा. रुणा झाले संयुक्त रूपमा गरे । उद्घाटनका क्रममा मेसु डा. चौधरीले सिमुलेशन ल्याब सञ्चालनमा आएसँगै स्वास्थ्यकर्मीहरूले आधुनिक उपकरणमार्फत प्रयोगात्मक अभ्यास गर्न पाउने र यसले अन्ततः बिरामीको उपचार सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउने बताए ।

यो ल्याब विशेषगरी सिबिआर तालिमका लागि लक्षित गरिएको छ । कोशी अस्पतालका आकस्मिक कक्षका इन्चार्ज कामेश्वर परिहस्तका अनुसार, दुर्घटना वा आपतकालीन अवस्थामा बिरामीलाई कसरी प्राथमिक उपचार गर्ने र सुरक्षित रूपमा अस्पतालसम्म ल्याउने भन्ने विषयमा स्वास्थ्यकर्मीहरूलाई कृत्रिम वातावरण सिमुलेशनमा अभ्यास गराइनेछ ।

“तालिम लिने स्वास्थ्यकर्मीहरूका लागि अब निकै सहज हुनेछ,” परिहस्तले भने, “यसअघि यस्तो प्रयोगात्मक अभ्यासका लागि पर्याप्त पूर्वाधारको अभाव थियो, अब ल्याब स्थापना भएपछि दक्ष जनशक्ति उत्पादनमा ठूलो सघाउ पुग्नेछ ।”

विश्व स्वास्थ्य संगठनले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलाई हस्तान्तरण गरेको यो ल्याब केन्द्रमार्फत कोशी अस्पताललाई प्राप्त भएको हो । अब यस ल्याबमा कोशी प्रदेशभरिका स्वास्थ्यकर्मीहरूका लागि विभिन्न समयमा तालिमका कार्यक्रमहरू आयोजना गरिने अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।