लोड हुँदैछ...

मेनु

जेनजी आन्दोलनमा कार्यालय ध्वस्त पारिएको इटहरी प्रहरी नयाँ भवनमा

जेनजी आन्दोलनमा कार्यालय ध्वस्त पारिएको इटहरी प्रहरी नयाँ भवनमा

इटहरी । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते ध्वस्त भवन ध्वस्त पारिएको इलाका प्रहरी कार्यालय इटहरी नयाँ भवनमा सरेको छ ।

इटहरी उपमहानगरपालिकाको सहयोग तथा स्थानीय उपभोक्ता समितिको सक्रियतामा भवन मर्मत तथा न्यूनतम पूर्वाधार निर्माण पूरा भएपछि प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

जेनजी आन्दोलनको क्रममा अराजक समूहको आक्रमणमा इलाका प्रहरी कार्यालय इटहरीको भवन पूर्णरूपमा ध्वस्त भएको थियो। भवन नष्ट भएपछि प्रहरी टोलीले करिब तीन महिनासम्म इटहरी–२० तरहरास्थित चौकीबाट अस्थायी रूपमा सेवा प्रवाह गर्दै आएको थियो।

इटहरी उपमहानगरपालिका, विभिन्न संघसंस्था तथा व्यक्तिहरूको पहलमा गठन गरिएको इलाका प्रहरी कार्यालय भवन पुनःस्थापना सहयोग समितिमार्फत इटहरी रंगशाला परिसरमा रहेको ज्येष्ठ नागरिक भवन तथा त्यहाँ उपलब्ध अन्य संरचनालाई मर्मत तथा पुनर्निर्माण गरिएको हो। पुनःस्थापनाअन्तर्गत कार्यालय प्रमुखको कार्यकक्ष, हिरासत कक्ष, आवश्यक गुणस्तरीय कोठा, प्रहरी ब्यारेक, भान्साघर, शौचालय, खानेपानी तथा विद्युत् जडान, भण्डारण कक्ष, प्रतिक्षालय र मेलमिलाप केन्द्र लगायतका संरचना निर्माण गरिएको छ ।

भवन मर्मत तथा निर्माण कार्यमा कुल ५३ लाख ३५ हजार ८०७ रुपैयाँ खर्च भएको बताइएको छ। त्यसमध्ये इटहरी उपमहानगरपालिकाबाट ४४ लाख ३७ हजार ५२ रुपैयाँ र उपभोक्ता समितिबाट ९ लाख ४३ हजार १२५ रुपैयाँको योगदान छ।

कठिन परिस्थितिमा समेत इटहरी उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी, विभिन्न संघसंस्था, जनप्रतिनिधि तथा स्थानीयको सहयोगले निर्माण कार्य सहज रूपमा सम्पन्न भएको भवन पुनर्निर्माण सहयोग समितिका संयोजक सन्तबहादुर डुम्जनले जानकारी दिए। कार्यक्रममा युवा व्यवसायी विनोद पौडेलको संयोजकत्वमा गठित चारपांग्रे सवारी साधन सहयोग उपसमितिले प्रहरीका लागि एक थान बोलेरो गाडीसमेत हस्तान्तरण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।