विराटनगर । मौसम खाराब भएका कारण बुधबार विराटनगर विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेन ।
बिहानैदेखि बाक्लो हुस्सु र बादल लागेपछि दृश्यता अत्यन्तै कम हुँदा जहाजको उडान तथा अवतरण पूर्ण रूपमा प्रभावित भएको विमानस्थल प्रशासनले जनाएको छ ।
विराटनगर विमानस्थलको मौसम मापन केन्द्रका प्रमुख राजेश झाका अनुसार बिहान करिब १२ देखि १४ सय मिटरसम्म मात्र भिजिबिलिटी रहेको थियो । दिउँसो हुस्सु अझै बाक्लिँदै गएपछि भिजिविलिट अझै कम हुँदा विमानको उडान र अवतरण हुन नसकेको हो ।
जहाज उडानका लागि आवश्यक न्यूनतम भिजिबिलिटी नपुगेकाले बिहानदेखि नै उडान हुन नसकेको विमानस्थलले जनाएको छ । सामान्यतया विराटनगरजस्ता आन्तरिक विमानस्थलमा हुने उडानका लागि कम्तीमा करिब १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, बुधबार दिनभरि नै उक्त मापदण्डभन्दा तल झरेपछि जहाज उडान–अवतरण रोकिएको हो ।
उडान नहुँदा विराटनगरबाट काठमाडौंसहित अन्य गन्तव्यतर्फ यात्रा गर्ने यात्रुहरू प्रभावित भएका छन् । कतिपय यात्रुहरू बिहानै विमानस्थल पुगे पनि उडान रद्द भएपछि फर्किन बाध्य भएका थिए ।
विराटनगर विमानस्थलबाट सामान्य अवस्थामा दैनिक डेढ दर्जनभन्दा बढी उडान हुने गर्छन् । जाडो मौसम सुरु भयसँगै तराईका विमानस्थलहरूमा हुस्सु र कम भिजिबिलिटीका कारण उडान अवरुद्ध हुने समस्या बारम्बार देखिँदै आएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।