विराटनगर । विराटनगरमा सांस्कृतिक मनोरञ्जनका नाममा खोलिएका ‘गीत गजल’हरू अवैध यौनधन्दा हुने गरेको पाइएको छ । विराटनगर–११ रोडशेष चोकस्थित ‘भिन्तुना गीत गजल’ भित्र १६ वर्षीया नाबालिग किशोरीलाई बन्धक बनाएर जबर्जस्ती यौनधन्दामा लगाउने गरिएको पाइएको हो ।
यस जघन्य अपराधमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले गजल सञ्चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा विराटनगर–१२ निवासी ३३ वर्षीय गजल सञ्चालक पर्शुराम कामत र विराटनगर–८ का २६ वर्षीय मनिष ठाकुर रहेका छन्।
झापा घर भएकी ती अबोध किशोरीलाई विगत पाँच महिनादेखि उक्त गजलमा काम लगाउने बहानामा राखिएको थियो। तर, कामको आवरणमा उनलाई एउटा अँध्यारो कोठामा बन्धक बनाएर क्रुर शारीरिक यातना दिने र भारतीय ग्राहकहरूसँग यौनसम्पर्क राख्न विवश तुल्याउने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता एवं डिएसपी कोपिला चुडालका अनुसार ती पीडित किशोरीले दिएको जाहेरीको आधारमा संचालकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको बताए । सोमबार पनि ती किशोरीलाई होटलको एउटा कोठामा थुनेर बन्धक बनाइएको थियो। कुनै बहानामा प्रहरीसम्म सूचना पुर्याउन सफल भएकी ती पीडित किशोरीको गुहारपछि वडा प्रहरी र बखरी प्रहरीको टोलीले सोमबार दिउँसो ३ बजे होटलमा छापा मारेर उनको उद्धार गरेको थियो।
पक्राउ परेका उनीहरुलाई मोरङ प्रहरीले ‘मानव बेचबिखन तथा ओसारपसार’ र ‘शरीर बन्धक’ कसुर अन्तर्गत अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ। विराटनगरका अन्य गजल र खाजा घरहरूमा पनि यस्ता अवैध गतिविधि र किशोरीहरूको शोषण भइरहेको आशंकामा प्रहरीले निगरानी बढाएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।