विर्तामोड । झापामा जङ्गली हात्तीको आक्रमणबाट प्रभावित बनेका परिवारलाई १ करोड ३७ लाख रुपैयाँभन्दा बढी राहत उपलब्ध गराइएको छ।
डिभिजन वन कार्यालय झापाका अनुसार जिल्लाका ८८३ जना हात्तीपीडितलाई कुल १ करोड ३७ लाख ३८ हजार ६४ रुपैयाँ राहत वितरण गरिएको हो।
डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले दिएको जानकारीअनुसार यस आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ भने एउटा हात्ती मृत फेला परेको छ। आक्रमणमा गम्भीर घाइते भएका दुई जनालाई २ लाख रुपैयाँको दरले राहत दिइएको छ भने ज्यान गुमाएका चार जनाको परिवारलाई जनही १० लाख रुपैयाँ प्रदान गरिएको छ।
झापामा हात्तीको आक्रमणबाट पशुधन, अन्न र भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। कार्यालयका अनुसार १० वटा पशुधन क्षतिवापत एक लाख रुपैयाँ, १८४ परिवारको अन्नमा भएको क्षतिका लागि १४ लाख ५३ हजार ७६४ रुपैयाँ, २३५ वटा घरगोठमा भएको क्षतिका लागि ३७ लाख २२ हजार ३ सय रुपैयाँ तथा ४४८ किसानको अन्नबालीमा भएको क्षतिबापत ४० लाख ६२ हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ।
राहत प्राप्त गर्नेहरूमध्ये ७०२ जना गत आर्थिक वर्ष २०८१–८२ का पीडित हुन् भने चालु आर्थिक वर्षमा १८१ जनालाई राहत प्रदान गरिएको छ। थप ११ परिवारलाई २१ लाख रुपैयाँ राहतका लागि सिफारिस गरिएको वन अधिकृत पाठकले जानकारी दिए।
राहत प्रक्रिया सहज बनाउन मेची, कनकाई, जलथल र दमक सब–डिभिजन वन कार्यालयमार्फत पीडितले निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। तर, प्रक्रिया झन्झटिलो भएकाले समयमै राहत वितरण गर्न कठिनाइ भइरहेको वन कार्यालयका कर्मचारीहरू बताउँछन्।
सरकारले हात्तीको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई जनही १० लाख रुपैयाँ राहत प्रदान गर्दै आएको छ । यस्तै, घाइतेलाई अधिकतम २ लाख रुपैयाँ तथा चौपाया, अन्नबाली र भौतिक संरचनामा भएको क्षतिका आधारमा क्षतिपूर्ति प्रदान गर्दै आएको छ।
विद्युतीय तारबार, जैविक मार्ग निर्माण, हात्ती आहाल निर्माण, फलफूलका बिरुवा रोपण र नियमित गस्ती जस्ता प्रयास भएपनि झापामा मानव–हात्ती द्वन्द्व पूर्ण रूपमा न्यूनीकरण हुन सकेको छैन।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।