लोड हुँदैछ...

मेनु

लुटपाटको लागि तीन जनाको हत्या, आरोपी सार्वजनिक

लुटपाटको लागि तीन जनाको हत्या, आरोपी सार्वजनिक

विराटनगर । असहाय र वृद्धवृद्धालाई निसाना बनाउँदै शृंखलाबद्ध बीभत्स हत्या गरेको आरोपमा पक्राउ परेका चार जना आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पछिल्लो तीन महिनामा तीन जनाको ज्यान लिने सो समूहका चार सदस्यलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चिसंखुगढी गाउँपालिकाका २४ वर्षीय संगम मिलन राई, ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय अशोक दोर्जे भुजेल छन् । लागुऔषधको कुलतमा फसेका उनीहरूले पैसाको लोभमा समाजका कमजोर पात्रहरू—एकल महिला र वृद्धवृद्धालाई मात्र निसाना बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो समूहको क्रूरताको पछिल्लो कडी पुस १५ गते चिसंखुगढी–६, भदौरेमा देखियो । त्यहाँ सानो किराना पसल चलाएर बस्ने ६० वर्षीय सोवितमान थापा मगर र उनकी पत्नी रत्नमायालाई यो समूहले बीभत्स ढंगले हत्या गर्‍यो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार हतियारधारी समूहले सुरुमा रत्नमाया र त्यसपछि सोवितमानलाई कोदालो र धारिलो हतियारले कञ्चटमा प्रहार गरेका थिए । हत्यापछि उनीहरूले शवलाई गोठमा लगेर स्याउलाले छोपेका थिए र घरबाट १ लाख नगद तथा ८ तोला सुन लुटेर फरार भएका थिए ।

यही घटनाको अनुसन्धानले तीन महिनाअघि भएको अर्को रहस्यमयी हत्याको पनि रहस्य सुल्झाएको छ । गत असोज २६ गते सिद्धिचरण नगरपालिका–४ मा एकल महिला ५२ वर्षीया रत्नकुमारी कटवालको पनि यसैगरी हत्या भएको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी मदन केसीका अनुसार दुवै घटनामा हत्या गर्ने शैली (मोडस अपरेन्डी) दुरुस्तै मिलेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट लुटिएको सुनको औँठी, हत्यामा प्रयोग भएको बन्चरो, खुकुरी, दुई थान भरुवा बन्दुक र मोबाइल बरामद भएको छ । प्रहरीले उनीहरूविरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना सम्बन्धी गम्भीर कसुरमा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।