लोड हुँदैछ...

मेनु

ओखलढुंगामा श्रृंखलाबद्ध हत्या गर्ने ४ जना पक्राउ

ओखलढुंगामा श्रृंखलाबद्ध हत्या गर्ने ४ जना पक्राउ

विराटनगर । ओखलढुंगामा लुटपाटको उद्देश्यले दुईवटा छुट्टाछुट्टै घटनामा तीन जनाको बीभत्स हत्या गर्ने चार जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा चिशंखुगढीका संगम राई, विनोद राई, प्रकाश भुजेल र अशोक भुजेल रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी दिपक पोखरेलले जानकारी दिए । उनीहरुले गत असोजमा रत्नकुमारी कटवालको हत्या गरेको आरोप छ । त्यसको तीन महिना पछि पुस १५ गते चिशंखुगढी–६ मा शोभितमान थापामगर र रत्नमाया थापामगरको हत्या गरेको प्रहरीले जनाएको छ । ६० वर्षे दम्पतीलाई कोदालो प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको समूहले एकान्तमा रहेका र नगद, सुन भएका व्यक्तिहरूलाई निशाना बनाएर क्रूरतापूर्वक हत्या गरी लुटपाट गर्ने गरेको खुलेको छ। उनीहरूको साथबाट हत्यामा प्रयोग गरिएको बन्चरो, खुकुरी, लुटिएको सुन पगालेर बनाइएको औंठी, रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र मोबाइलहरू बरामद गरिएको छ।
पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।