लोड हुँदैछ...

मेनु

झापामा ५० हजार मतदाता र ४९ मतदान केन्द्र थप

झापामा ५० हजार मतदाता र ४९ मतदान केन्द्र थप

विर्तामोड । झापामा मतदाताको सङ्ख्या ५० हजारभन्दा बढीले बढेसँगै प्रतिनिधिसभा निर्वाचनका लागि ४९ वटा मतदान केन्द्र थप गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता तथा मतदान केन्द्र विवरणअनुसार २०७९ सालको निर्वाचनको तुलनामा यस पटक झापामा पुरुष २७ हजार ३०२ र महिला २२ हजार ९२४ गरी कुल ५० हजार २२६ जना मतदाता वृद्धि भएका हुन्।

२०७९ सालको निर्वाचनमा झापामा कुल मतदाता ६ लाख ६३ हजार ३११ रहेका थिए। अहिले उक्त सङ्ख्या बढेर ७ लाख १३ हजार ५३७ पुगेको छ। मतदाता वृद्धि भएसँगै यसअघि रहेका ७६६ मतदान केन्द्रमा ४९ थपिँदा अब झापामा ८१५ मतदान केन्द्र पुगेका छन्। यद्यपि मतदान स्थलको सङ्ख्या भने यथावत् राखिएको छ। जिल्लामा हाल २८५ वटा मतदान स्थल रहेका छन्।

झापाका पाँचवटै निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेका छन्। उक्त क्षेत्रमा ८१ हजार ८१ पुरुष र ८२ हजार २९६ महिला गरी जम्मा १ लाख ६३ हजार ३७९ जना मतदाता रहेका छन्। त्यसपछि क्षेत्र नम्बर २ मा ७३ हजार ९५० पुरुष र ७३ हजार ५६७ महिला गरी कुल १ लाख ४७ हजार ५२२ मतदाता छन्।

क्षेत्र नम्बर ३ मा ७१ हजार १७४ पुरुष र ६९ हजार ६८३ महिला गरी १ लाख ४० हजार ८५७ मतदाता रहेको विवरणमा उल्लेख छ। त्यस्तै क्षेत्र नम्बर १ मा ६५ हजार ८५८ पुरुष र ६५ हजार २०९ महिला गरी कुल १ लाख ३१ हजार ६७ जना मतदाता छन्। सबैभन्दा कम मतदाता क्षेत्र नम्बर ४ मा रहेका छन्, जहाँ ६६ हजार २८३ पुरुष र ६४ हजार ४२८ महिला गरी जम्मा १ लाख ३० हजार ७१२ मतदाता रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार झापाका ८१५ मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन वर्गमा विभाजन गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइने छ। निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा निकायसँग समन्वय गरेर तयारी अघि बढाइएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।