विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा रहेको ऐतिहासिक एवं धार्मिक महत्त्वको संसारीमाई मन्दिरमा गएराति चोरी भएको छ । अज्ञात समूहले मन्दिरको मुख्य गेटको ताल्चा फोडेर बहुमूल्य सामग्रीहरू चोरी गरेका हुन् ।
मन्दिर व्यवस्थापनका अनुसार संसारी माताका दुई थान साना मूर्ति, ठूलो मूर्तिमा लगाइएका चाँदीका गरगहना र दानपेटिकाको सिसा फुटाएर भित्र रहेको नगद चोरी भएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार रातको समयमा योजनाबद्ध रूपमा चोरी भएको देखिन्छ ।
आइतबार बिहान मन्दिरका मेनेजर पंकज झाले घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले मुचुल्का उठाउने र शंकास्पद व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ ।
धार्मिक स्थलमै चोरी भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । उनीहरूले मन्दिरको सुरक्षामा प्रश्न उठाउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र धार्मिक स्थलहरूमा सीसीटीभी तथा थप सुरक्षाको व्यवस्था मिलाउन माग गरेका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।