लोड हुँदैछ...

मेनु

पाथीभरा केबलकारविरुद्ध आन्दोलनका नयाँ कार्यक्रम घोषणा

पाथीभरा केबलकारविरुद्ध आन्दोलनका नयाँ कार्यक्रम घोषणा

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले फेरि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका र ललितपुरको किराँत याक्थुङ चुम्लुङ हिममा पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरिएको हो।

समूहले पुस २२ गतेदेखि ताप्लेजुङका सबै स्थानीय तहसहित विभिन्न जिल्लामा गाउँघर भेला तथा छलफल गर्ने जनाएको छ। माघ १२ गते पूर्वी नेपालका सबै जिल्ला तथा मुख्य बजारमा कोणसभा, माघ १६ गते फुङलिङ बजारमा जनप्रदर्शन र कोणसभा तथा १७ गते ‘नो केबलकार’ आन्दोलनका क्रममा घाइते भएकालाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ।

समितिले माघ १८ गते पाथीभराको कान्छीथानदेखि मन्दिरसम्म धागो टाङ्ने कार्यक्रम गर्नेछ भने १९ गते पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा प्रदर्शन र कोणसभा आयोजना हुने जनाइएको छ । माघ २० गतेदेखि मसान्तसम्म पाथीभरा केबलकार र पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी तथा मुक्कुमलुङ संरक्षणका क्रममा लगाइएका मुद्दा खारेजीलाई निर्वाचनको एजेन्डा बनाएर गाउँबस्तीमा अभियान चलाइने बताइएको छ।

केबलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले मन्त्रिपरिषद्‌स्तरीय निर्णयबाट केबलकार खारेजी नै आफूहरूको एकमात्र माग रहेको बताए । निर्माण कम्पनीले जतिसुकै काम गरेपनि केबलकार सञ्चालन हुन नदिने चेतावनी उनले दिए । आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको विज्ञप्तिमा १५ वटा संघसंस्था र नौवटा राजनीतिक दलले हस्ताक्षर गरेका छन्।

राजनीतिक दलतर्फ राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावती, जसपा केन्द्रीय कार्यकारिणीका अध्यक्ष रमेश राई, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिका मुख्यसचिव सञ्जय राई, नागरिक उन्मुक्ति पार्टी कोशी प्रदेशका अध्यक्ष धनबहादुर पन्धाक, नेपाल जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त खेवाङ, मंगोल नेशनल अर्गनाइजेसनका अध्यक्ष नयन्द्र चाम्लिङ र नेपाल कम्युनिष्ट पार्टी किरात लिम्बुवान प्रदेश समितिका अध्यक्ष गजेन्द्र पालुङ्वाले हस्ताक्षर गरेका छन्।

संघसंस्थातर्फ मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बू, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु, किरात याक्थुङ चुम्लुङ संघीय समितिका प्रेम येक्तेन, किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका अध्यक्ष जीवन हाताचो राई र लिम्बू थरगत संस्था सहजीकरण समूहका संयोजक नन्द कन्दङ्वाले हस्ताक्षर गरेका छन्। यस्तै किरात धर्म तथा साहित्य उत्थान संघ, प्रदेश नम्बर १ पुनः नामांकन अभियान समिति, नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, याक्थुङ युवा मञ्च, याक्थुङ चोःसङजुम्भो, याक्थुङ मुन्चइत चोक सयङ र लिम्बू विद्यार्थी मञ्चका प्रतिनिधिहरूको पनि समर्थन रहेको जनाइएको छ।

फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा ‘नो केबलकार’ पक्षधर सबै घटकका प्रतिनिधिको उपस्थिति थियो। अर्का अभियन्ता किर्तिमान मादेनले केबलकारको स्थान तलमाथि वा यताउता सारेर निर्माण गर्ने प्रस्ताव पनि स्वीकार्य नहुने बताए। उनले केबलकार खारेजीबाहेक अन्य कुनै विकल्प संस्थागत रूपमा मान्य नरहेको स्पष्ट पारे।

यसअघि सरकारसँग भएको वार्ता समितिको संयोजकसमेत रहेका फेम्बुले आन्दोलन निरन्तर रहने संकेत गरेका छन् । यसअघि पनि केबलकार निर्माणस्थलमा पटक–पटक झडप भएको थियो ।

निर्माण कम्पनीले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।