विराटनगर । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने सशस्त्र प्रहरीका बरिष्ठ हवल्दारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोलीकाण्डको विषयमा छानबिनका लागि हिजो (बिहीबार) नै समिति गठन गरेकोमा प्रहरीले सोधपुछको लागि भन्दै गोली चलाउने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नवराज खतिवडालाई नियन्त्रणमा लिएको हो ।
भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्र प्रहरीले बुधबार विहान गोली चलाएको थियो । उनको तत्कालै मृत्यु भएको थियो ।
गोली हान्ने हवल्दारलाई बिहिबार नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरी प्रवक्तासमेत रहेका डीएसपी चन्द्र खड्काले जानकारी दिए । घटनापछि बिहीबार नै लौहीस्थित सशस्त्रको बोर्डर आउट पोस्टमा कार्यरत सबैलाई फिर्ता बोलाइएको छ ।
घटनाको छानविनको लागि सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपानेको संयोजकत्वमा डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत रहेको छानविन समिति गठन भएको छ । समितिलाई ७ दिनको म्याद दिइएको छ ।
साहको मृत्यु भएपछि बिहीबार दिनभर तनावग्रस्त बनेको लौकहीको अवस्था घटनाको छानविन गर्ने सहमतिपछि सामान्य भएको थियो । घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्ने, मृतकको परिवारबाट सशस्त्र प्रहरीमा जागिरका लागि इच्छा राखेमा सहयोग गर्ने, काजकिरिया खर्चबापत पीडित परिवारलाई १ लाख सशस्त्र प्रहरीले दिने, लौकहीमा अर्को सशस्त्र प्रहरीको टोलीलाई पठाई पुरानोलाई फिर्ता ल्याउने सहमति भएको थियो ।
सहमतिपछि परिवारजनले जिम्मा लिएर परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको छ । साहको मृत्युपछि आक्रोशित स्थानीयले लौकही बजारमा राखेर प्रदर्शन गर्नुका साथै लौकही बजारमा रहेका सशस्त्र प्रहरी पोष्टमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए ।
स्थानीले तस्करीको भागबण्डा नपाएपछि सशस्त्रले गोली हानेर साहको हत्या गरेको आरोप लगाएका छन् । सशस्त्रमाथि पहिलेदेखि नै सुरक्षामा भन्दा भागबण्डामा काम गरिरहेको आरोप छ ।
लौकही नाकाबाट तीन वटा अटो रिक्सामा चिनी लिएर आएको समूहलाई सशस्त्रले गोली हानेको थियो । सशस्त्र प्रहरीले भने तस्करको समूहले पहिला गोली हानेको र जवाफी कारबाही गर्दा दुर्घटना भएको दाबी गर्दै आएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।