विराटनगर । मोरङको लेटाङकी १३ वर्षीया बालिका अंशु गौतमको विभत्स हत्या प्रकरणमा मुख्य आरोपी पदमबहादुर अधिकारीलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । बिहीबार न्यायाधीश टंकबहादुर महतको इजलासले थुनछेक बहसपछि मुद्दाको अन्तिम किनारा नलागुन्जेल उनलाई थुनामा राख्न आदेश दिएको हो । अदालतको यो आदेशसँगै छिमेकी बालिकाको हत्यामा संलग्न अधिकारीलाई जिल्ला कारागार मोरङ पठाइएको छ ।
प्रहरी र अदालतसमक्ष दिएको बयानमा अधिकारीले हत्याको पछाडि पुरानो रिसिबी र तत्कालको यौन आवेगलाई मुख्य कारण बताएका छन् । साउदी अरबमा रोजगारीका क्रममा रहँदा अंशुका बुवासँग भएको विवादलाई लिएर उनले लामो समयदेखि मनमा प्रतिशोध पालेर बसेका थिए । पारिवारिक रूपमा समेत बोलचाल नरहेको अवस्थामा उनले अंशुका बुवाआमा घरमा नभएको मौका छोपेर रिसिबी साँध्ने मौका पर्खिरहेका थिए । घटना भएको दिन गत असोज २१ गते अंशुलाई खेलिरहेको अवस्थामा देखेपछि उनले जङ्गलमा घाँस काट्न जान फकाएका थिए । ‘अंशु नानी, मलाई जङ्गलबाट घाँस ल्याउनु छ, तँ मसँग जाउँ न’ भन्दै उनले फकाएर बालिकालाई जङ्गलको मुखसम्म पुर्याएको र त्यहाँबाट साइकलमा राखेर जंगलभित्र पुर्याएको बयान दिएका छन् ।
जङ्गल पुगेपछि अधिकारीले बालिकालाई यौन प्रस्ताव राखेका थिए, तर बालिकाले त्यसको कडा प्रतिकार गरिन् । ‘मैले जबर्जस्ती करणी गर्न खोज्दा निजले यसो नगर्नु भन्दै प्रतिकार गरी रोई कराउन थालिन्, म सुगरको बिरामी भएका कारण मेरो लिङ्ग उत्तेजित समेत भएन,’ अधिकारीले बयानमा उल्लेख गरेका छन् । बालिका कराउन थालेपछि आफ्नो कर्तुत बाहिरिने डर र अंशुका बुवासँगको पुरानो रिसिबीका कारण उनले त्यहीँ बालिकाको हत्या गर्ने योजना बनाएको स्वीकारेका छन् । हँसियाले घाँटी रेटेर विभत्स हत्या गरेपछि शवलाई झाडीमा फालेर उनी शंका नहोस् भन्नका लागि एक मुठो घाँस लिएर घर फर्किएका थिए ।
घटनापछि उनी आफैँ पनि बालिकाको खोजीमा संलग्न भएझैँ नाटक गरिरहेका थिए । कात्तिक ७ गते शव फेला परेपछि प्रहरीले उनलाई पनि सोधपुछका लागि बोलाएको थियो, तर त्यतिबेला उनले वास्तविकता लुकाएका थिए । उनले शवलाई दुई–तीन पटकसम्म खाल्डो खनेर पुर्ने प्रयास गरे पनि डरका कारण सफल हुन नसकेको बताएका छन् । पछि कात्तिक १८ गते आफ्ना छोरा कारागारबाट कैद भुक्तान गरी छुटेपछि उनैलाई बहाना बनाएर उनी विराटनगर आएका थिए । जेठान र छिमेकीसँग २० हजार रुपैयाँ सापट मागेर उनी काँकडभिट्टा हुँदै भारतको जलपागुडी र गुवाटीसम्म पुगेर मिठाई पसल र गाई फार्ममा काम गरेका थिए ।
प्रहरीले शंका गरिरहेको र घरपरिवारलाई सोधपुछ गरिरहेको थाहा पाएपछि उनी मंसिर १८ गते घर फर्किएका थिए, जहाँ उनलाई भोलिपल्टै प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले उनको घरबाट हत्यामा प्रयोग भएको हँसिया, साइकल र अन्य कपडाहरू समेत बरामद गरेको छ । अभियोगपत्रमा अधिकारीलाई मुलुकी अपराध संहिता बमोजिम क्रुरतापूर्वक ज्यान मारेको ठहर गर्दै आजीवन कारावास र जबर्जस्ती करणी उद्योगमा थप सजायका साथै सात लाख रुपैयाँ जरिवानाको मागदाबी गरिएको छ । अदालतको आदेशसँगै अब यो मुद्दाको नियमित सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।